‘हाम्रा चाडवाडहरुलाई प्रविधिमैत्री बनाऔं ‘


     डा.टेकनारायण पौडेल    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित




हाम्रा संस्कार र संस्कृतिहरू मानव सभ्यताको उत्पति सँगसँगै बिस्तारै विकसित हुँदै हुँदै आए । आज यी संस्कार र संस्कृतिहरू यस्तो विषम र अप्ठ्यारो अवस्थामा मनाउन पर्ने गरि सिर्जित भएका छन् । हामी करिब नौ महिनादेखि कोरोना कहरका कारणले परम्परागतरुपमा बनाउँदै आइरहेका चाडपर्वहरु भौतिक रुपमा उपस्थित भई मनाउन सकिने अवस्था रहेन । हामीले यो बेला प्रविधिको प्रयोग गर्दै विभिन्न खालका रचनात्मक कामहरु गर्ने कोसिस गरौं र त्यस्ता रचनात्मक कार्यहरुलाई विभिन्न क्षेत्रमा बहुउपयोगी क्षेत्रको रुपमा विकास गर्दै आयौं । हिजोको अवस्थासम्म डिजिटल प्रविधि हाम्रा लागि नयाँ थिए, नेपालमा प्रविधि विकास भएको धेरै लामो समय भएको छैन तर हामीले परिस्थितिको जटिलता सँगसँगै प्रविधिलाई पनि भित्र्याएका छौं । प्रविधिलाई भित्र्याउदै गर्दा हामीले धेरै कुरामा फड्को मारेको अवस्था छ । यसकारणले समाजमा मानिसहरुले आफ्ना कामलाई भौतिक रुपमा उपस्थित हुनु नपर्ने कामहरुलाई सहज र सरल बनाएका छन् ! विकसित मुलुकहरूमा डिजिटल प्रविधिको प्रयोग धेरै पहिलेदेखि नै हुँदै आएको पाइन्छ । हाम्रा लागि नयाँ अभ्यास हो यो परिवेश सिर्जना हुनुमा कोरोना कहरका कारणले भएको हो भन्न सकिने अवस्था छ । यस्तो खालको जटिल परिस्थिति सिर्जना नभएको भए सम्भवतः हामी सबैजसो नेपालीहरुले अनलाइन शिक्षा होस् वा भर्चुअल रुपमा गरिने बैठकहरु कुनै पनि कुराहरु अनलाइनको माध्यमबाट जोडिने कुरा हामी कहाँ अरु केही दशक पछि मात्रै पाउनसक्ने अवस्था हुनसक्थ्यो ! हामी यो जटिल परिस्थितिमा छौं तथापि प्रबिधिले धेरै कुराहरुलाई सहज बनाएको छ । आज यिनै प्रविधिको प्रयोगका कारणले हामीले धेरै राम्रा रचनात्मक कामहरु गर्न सकेका छौँ । यस अर्थमा कोरोना हाम्रा लागि अथवा सिकाइ प्रविधिका लागि सकारात्मक हिसाबले कोसेढुङ्गा सावित भएको मान्न सकिन्छ ।

केही महिनाअघिसम्म हामी धेरैजसो नेपालीहरुले संसारमा व्यापक रुपमा चलेका केही सामाजिक सञ्जालहरु बाहेक अन्य विषयहरुमा ज्ञान थिएन आज धेरै धेरैलाई थाहा छ कि डिजिटल प्रविधि के हो ? सबै जसोलाई थाहा भइसकेको यो डिजिटल प्रविधिलाई अब हामीले अन्य चाड्बाड्सम्म जोड्न सक्ने अवस्था सिर्जना गर्नुपर्दछ । सदियौं देखी मनाउदै आइरहेका नेपालीहरुका महान पर्वहरुको मध्येको एउटा पर्व विजयादशमी हो । हरेक नेपालीहरूको घरमा साझा पर्वको रुपमा परिवारका सदस्यहरु भेटिने एउटा संगम स्थलको रुपमा विजयादशमीलाई मानिने गरिन्छ । अघिल्लो वर्षसम्म भौतिक रुपमा उपस्थित भई आफूभन्दा मान्यजनसँग आफूभन्दा ठूलासँग टिका ग्रहण गरी आशीर्वाद लिने चलन थियो । अब बिस्तारै यो प्रक्रिया र संस्कारलाई हामीले प्रविधिमैत्री बनाउन सक्यौं भने हामीले हाम्रा ज्येष्ठ नागरिकहरूलाई अरु केही वर्ष बढी बाँच्न दिने अवसर सिर्जना गर्न सक्नेछौं । यसो भनिरहँदा परिवारको कुनै एक सदस्य जो बजारमा बस्छ सहरमा बस्ने परिवारको सदस्य चाडबाडका बेला भेट गर्न आफ्नो जन्मस्थानमा जाने र आफूभन्दा मान्यजनहरुबाट टीका ग्रहण गर्ने अवस्था रहन्छ । जब परिवारको सदस्य अन्यत्र बाट आफ्नो परिवारका सबै सदस्यहरु भएको स्थानमा जम्मा हुन्छन् त्यो बेला मनोवैज्ञानिक रुपमा कुनै व्यक्तिलाई कुनैपनि सिजनमा लाग्ने कुनै खालका संक्रामक रोगहरु लाग्न सक्छ । त्यस्तो अवस्थामा परिवारको सदस्य दोषी देखिने अवस्था सिर्जना हुनसक्छ । यसकारण हामीले बाहिरबाट आएको सदस्यले कोरोना जस्ता संक्रामक रोगहरु ल्याएर आएको अनुमान गर्न सक्छौं । भलै हाम्रो मनोविज्ञान कमजोर हुन सक्छ । तथापि सुरक्षाका सबै उपायहरू अपनाउँदै गर्दा पनि रोग देखिने अवस्था सिर्जित भयो भने दोषी परिवारकै सदस्यहरु हुनसक्छ !

मानिस एउटा त्यस्तो प्राणी हो जो जन्मजात देखि मृत्युपर्यन्त कुनै न कुनै खालका रोगहरू लागेकै हुन्छ । एउटा सजीव प्राणी भएका कारणले विभिन्न खालका आरोह अवरोहहरु सिर्जना हुनसक्छन् त्यस्ता खालका आरोह अवरोहहरु जिबनमा कैयौं पल्ट आए होलान् तर त्यस्तो खालको खालको विपद मानसिकता र मनोविज्ञानलाई नै त्रसित बनाउने खालको संक्रामक रोग पहिला आएको अवस्था यो पुस्ताले जानेन । यसकारणले पनि हामीले कुनै कारणले भएको रोगीलाई परिवारको सदस्यले रोग बोकेर आयो भन्ने अवस्था सिर्जना हुनसक्छ भन्ने कुरामा सतर्क हुनुपर्ने हुनसक्छ । हामीले हाम्रो मनोविज्ञान हाम्रो संस्कार प्रविधि लाई परिवर्तन गर्न सक्यौं भने धेरै फाइदा हुनसक्छ चाडबाडका नाममा हुने भीडभाड लाई कम गर्न सक्छौं ! चाडबाडका नाममा हुने खर्चहरुलाई कटौती गर्न सक्छौं ! चाडबाडका नाममा हुने बेथिति र विसंगतिहरुलाई कम गर्न सक्छौं ! यतिमात्र होइन हामीले हाम्रा संस्कार र संस्कृतिहरू लाई प्रविधि मैत्री बनाउन सक्छौं हामीले हाम्रा जीबनशैलीहरु लाई परिवर्तन गर्न सक्छौं ! हामीले हाम्रा खानपान रहनसहन भेषभूषा आदिहरुमा पनि परिवर्तन गर्न सक्छौं । जिबनमा धेरै पल्ट धेरै नयाँ नयाँ खालका पहिरनहरू लगाइएको थियो तर कुनै कारणले त्यस्ता नयाँ पहिरनहरू यो वर्ष किन्ने अवस्था सिर्जना भएन भने पनि हामी अन्य वर्षहरु व्यतित गर्ने सन्दर्भमा धेरै खालका नयाँ पहिरनहरु लगाउन पाउने छौं ! हामीले ख्याल गरौँ ज्यान स्वस्थ रहे दशैं तिहार जस्ता चाडपर्वहरु अर्को वर्ष पनि बनाउन पाइन्छ । दशैं मात्रै नभई थुप्रै संस्कार र संस्कृतिहरू ,थुप्रै नयाँ-नयाँ अवतारहरू ,थुप्रै नयाँ नयाँ आविस्कारहरु देख्न पाइन्छ त्यसकालागि स्वस्थ जीवन शैली अपनायो भने मात्रै संभव छ । यी सबै चिजको प्रयोग गर्नका लागि हामीले गर्ने पर्ने यो एउटा सामान्य चिज हो हाम्रो सोचमा परिवर्तन । हाम्रो व्यवहारमा परिवर्तन हाम्रा आनिबानीहरुमा परिवर्तन । हाम्रो संस्कार संस्कृतिहरू बनाउने तरिका र शैलीमा परिवर्तन । यिनै खालका शैली र संस्कृतिहरुलाई प्रयोग गर्नका लागि पनि अब उप्रान्त कुनै कारणले दोषी बन्ने वा दोषी बन्ने वातावरणबाट मुक्त हुने कार्यको थालनीका लागिपनि हामीले हाम्रा चाडपर्वहरुलाई प्रविधि मैत्री बनाउन जरुरी छ !! अब सम्भव भएसम्म सबैखाले चाडपर्वहरु प्रविधि प्रयोग गरी बनाउन जरुरी देखिन्छ । यस पटकको दशैंमा हिजो केहि प्रयोगमा आयो पनि । अब आउदै गरेका दीपावली छठ, लोसार/ल्होछार नेपालसम्बन्धी लगायतका थुप्रै यस्ता चाडपर्व आउँछन् । जुन चाडपर्वहरू कोरोना जस्ता कहरका कारणले प्रविधिमैत्री बन्न जरुरी छ । आज यो प्रकृतिको एउटा सामान्य भाइरसले मानवहरूको भावनात्मक एकतामा जुन खालको प्रभाव पारेको छ, एउटा व्यक्तिको मनोविज्ञानमा नकारात्मक असर पार्यो भने त्यो भयानक हुनेछ ।यसकारणले पनि चाडबाडहरु मनाउँदै गर्दा डिजिटल प्रविधिको प्रयोग गरी बनाउन आवश्यक देखिन्छ । बाँकी हाम्रा संस्कार र संस्कृतिहरू हराउने अवस्था सिर्जना नहोस् र परिवारको सदस्यले पनि चाडबाड मनाइ रहेको कुराको अपनत्व महसुस गर्न सकोस् । फेरि एक पटक दशैंको शुभकामना ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।