पोखरामा पटाका आतंक


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ. पोखरा, कात्तिक २३

पोखरा पटाका निशेधित क्षेत्र हो । यहाँ पटाका जन्य पदार्थहरु बेचबिखन, भण्डारण, ओसारपसारदेखि पड्काउनसम्म निशेध गरिएको छ । पटाकाले ध्वनी तथा वायु प्रदूषण गर्नुका साथै पटाका पड्काउँदा छाला जल्ने, हात, खुट्टा र शरिरमा चोटपटक लाग्ने तथा कानको जालीसमेत फुट्ने सम्भावना रहन्छ । त्यतिमात्र होईन, असावधानीवश पटाका पड्काउँदा आगलागीका घटनासमेत हुनसक्ने जोखिम रहन्छ । त्यसैले निशेधित क्षेत्रमा नियम उलंघन गरि पटकाका पड्काएमा मुलुकी अपराध संहिता २०७४, विष्फोटक पदार्थ ऐन २०१८ अन्तर्गत मुद्धा चल्छ । उक्त कसुर प्रमाणित भएमा ३ वर्षसम्म कैद, ३० हजारसम्म जरिवाना वा दुबै सजाय पनि हुनसक्छ ।

कानूनले बर्जित गरेको र जिल्ला प्रशासन कार्यालय कास्कीले निशेध गरेको पटाका पोखरामा भने निरन्तर पड्किरहेको छ । अघिल्ला वर्षहरुमा कमैमात्रामा पड्किने पटाका यस वर्ष भने बाक्लो मात्रामा पडिकरहेको छ । जसले पोखरामा पटाका आतंक नै सिर्जना गरेको छ । पोखरा–३ निवासी लोकेन्द्र गुरुङ भन्छन्,‘पटाका आतंक छ पोखरामा ।’ यसले सर्वसाधारण आतंकित भएको उनको दाबी छ ।

नागरिक समाज पोखराका संस्थापक अध्यक्ष तथा नागरिक अभियन्ता रामबहादुर पौडेलले २०६७ सालमा आफूहरुले थालेको अभियानपछि पोखरामा पटाका पड्किनु कम भए पनि यस वर्षदेखि बढेको बताएका छन् । त्यसबेलादेखि प्रशासनले हरेक वर्ष सार्वजनिक सूचना जारी गरेर पटाकाजन्य पदार्थको विक्रीवितरण, भण्डारण, ओसारपसारसँगै पड्काउन निशेध गरेको थियो,उनले भने,‘यस वर्ष पनि हामीले ध्यानाकर्षण गराएकै हो, तर यो वर्ष पटाका ब्यापक पड्किएको छ ।’ उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस नै लेखेर पोखरामा पटाका चौतर्फी पड्किएको बताएका छन् । कास्की प्रशासनको ध्यानाकर्षण गराउँदै उनले लेखेका छन्,‘शक्तिशाली बम विष्फोट भए झैं चौतर्फी पटका पड्किनु राम्रो संकेत होईन । प्रशासनको ध्यानाकर्षण होस् ।’

अर्का पोखरेली अम्बिकाप्रसाद भट्टराईले पटकाका कारण सुत्न पनि नसकिएकोभन्दै सामाजिक सञ्जालमा लेखेका छन् । घटना रोक्न के गर्नु पर्ने हो भन्दै उनले भनेका छन्,‘पटाकाले कान खायो, सुत्न पनि दिएन, कसो गर्ने हो ? ।’

अर्का पोखरेली ठाकुरप्रसाद अधिकारीले पटाका आतंकका कारण सर्वसाधारणमा त्रास सिर्जना भएको बताए । चाडपर्वको नाममा शान्ति सुरक्षा भंग गर्ने छुट कसैलाई नभएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘शक्तिशाली बम विष्फोट भएझैं चौतर्फी पटका पड्किनु सामान्य मनोरञ्जनको विषय होईन, यसले सर्वसाधारण्मा त्रास सिर्जना गर्नुका साथै बालबालिका, ज्येष्ठ नागरिक, विरामी तथा शान्तिपूर्वक बस्न चाहने नागरिकलाईसमेत असर गरिरहेको छ ।’

कास्की प्रहरीले भने पटाका नियन्त्रणको प्रयास भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले पटाका नियन्त्रणका लागि पोखराका ५ फरक ठाउँमा प्रहरी निरीक्षक (ईन्सपेक्टर)को नेतृत्वमा चेकिङ भइरहेको जानकारी दिए । ‘पोखराका प्रमुख ५ ठाउहरु पस्र्याङ, हरिचोक, सिसुवा, छोरेपाटन र लेकसाईडमा ब्यापक चेकिङ छ, यो क्रम साँझ पनि जारी रहन्छ ।’ उनले यस अवधीमा बगर र रामबजार क्षेत्रबाट ठूलो मात्रामा पटाका बरामद गरिएको बताए । तर मान्छे भने अहिलेसम्म नसमातिएको उनले प्रस्ट्याए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।