रिहर्सल (संस्मरण )


     प्रकाश सायमी    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित




म चढेको बसको पछाडि कुनै सीट थिएन , म बसेको सीट नै अन्तिम थियो । लास्ट सीटमा बस्ने रहर मलाई स्कुलडेज् देखि नै थियो ।
क्लासमा पनि म लास्ट सीट मै बस्थेँ तर क्लास टिचरले फस्र्ट ब्वाई एट लास्ट बेन्च भनेर जिस्काए पछि अघिल्लो सीटमा आएर खुट्टा तन्काउन थालेको थिएँ , त्यो बेला ।
बस गुड्यो , अँध्यारोलाई छल्दैछल्दै ।
बसको लाइटले बाटो बाहेक केही देखिँदैनथ्यो । मलाई त त्यो बाटो पनि सानो गल्ली जस्तो लाग्दैथियो पछाडिको सीटबाट हेर्दा ।
बाटो छेवछावका घरका स्ट्टि ल्याम्प निभिसकेका थिए । बाटो त पुरा सुनसान थियो । शुटिंग गर्न तैयार पारिएको कुनै क्लाइमेक्सको सेट जस्तो ।
बस बजार छोडेर भित्री गाउँ हुँदै उकालो चढ्दै गर्दा बसले लामो लामो सास धीमाधीमा गतिमा छोड्न थाल्यो । त्यतिवेला मैले बसको झल्याकझुलुक उज्यालोमा मेरो पछाडि हेरेँ , मेरो पछाडि अर्को दुइटा सीट रहेछ तर त्यहाँ बोराकाबोरा सामान कोचिएको थियो ।
मैले ह्यान्डी ब्वाईलाई सोधेँ , के हो भाइ यो ?
उसले बसको आवाजलाई म्युट गर्न खोजे जस्तै गरी बोल्यो , रिमोट हातले दबाएको जस्तो अभिनयमा उसले भन्यो , अलैँची हो सर । अलैँची ।
अलैँचीको भव्य खेती हुने यो पहाडी भेगमा अलैँचीको व्यापार खूब चल्छ । अलैँची , अदुवा , चिया यहाँको विशेष खेती हो । यसको व्यापार भारतको दूरदिगन्त सम्म पुग्छ भन्ने सुनेको छु ।
सिंगताम बजारबाट अलैँची बोकेर हिँडेको यो बस राबाँग्ला भएर अझै कता जाने हो मलाई थाहा थिएन । बसको अघिल्लो सीटमा एक्लो डइभर बाहेक अरु कोही थिएनन् ।
बसको ढोकाको छेवको सीटमा ह्यान्डी ब्वाई अर्को एउटा साथीसित खैनी माड्दै खाँदै थिए ।
मानौँ यस्तो लाग्छ , त्यो बसले मलाई किडन्याप् गरेर कतै लाँदैछ ….डल्लै बसमा म एक्लै ।
यतातिर सिँगैलाई डल्लै भन्ने चलन छ , दार्जीलिँगतिरको प्रभाव ।
बस डँगुर धुँवा फ्याँक्दै राबाँग्ला बजारमा आएर रोकियो ।
म झोलासहित उत्रेँ , अन्धकार त्यो बस्तीमा । ठूलो आवाजको बसबाट म ओर्लिँदा त्यो बस्ति शान्त भएर सुतिरहेको थियो ।
मलाई यो बस्ति वा गाउँमा आउँदा जहिले पनि हुनुनहुुनुको प्रेमको आभाष हुन्छ ।
मेरो जीवनको पहिलो प्रेमको अन्तिम पाठ यहीँ लेखिएको छ , त्यो मलाई थाहा थियो ।
जसलाई म प्रेम गर्थेँ उनको नाम थाह नपाइकन मैले श्वेता भनेको थिएँ तर उनको नाउँ श्वेता होइन भन्ने कुरा मैले दुईवर्ष पछि मात्र थाहा पाएँ कति शान्त प्रेम थियो हाम्रो , मौन र शान्त । कुनै विरोध र असन्तुष्टि नै थिएन ।
श्वेता मलाई जीवनमा बर्टोल्ट ब्रेख्तको किताब पढ्न दिने पहिलो महिला थिइन् तर मैले ब्रेख्तका उदास पंक्तिहरु धेरै पहिल्यै बम्बईका वर्सादी दिनहरुमा पढिसकेको थिएँ ।
अब फेरि पढ्दैछु , ब्रेख्त र ब्रेख्तका कविताका पंक्तिहरु ।
बम्बईको सार्वजनिक पुस्तकालयबाट यो किताब साभार गरेर पढ्दा मसित पैसा कम समय बढी हुन्थ्यो । अहिले समय छ तर पढ्ने फुर्सद छैन ।
बम्बई भर्खरै मुम्बईमा रुपान्तरण हुँदै थियो तर पनि मलाई बम्बई नै भन्दा चँखिलो स्वाद् लाग्थ्यो किनकि बम्बई बम्बई नै हुँदा म सन् १९८४ मा बम्बई पुगेको थिएँ ।
बम्बईको नाउँ मैले काठमान्डूबाट भागेर भारत जाने क्रममा बीरगञ्जमा देखेको थिएँ , होटल बम्बे थियो त्यहाँ ।
त्यसपछि मैले सांगीतिक कार्यक्रम गर्न जाने क्रममा इलाम जाँदा आइतवारे बजारको एउटा मिठाई दोकानमा सुनेको थिएँ , बम्बइसान भन्ने मिठाइको नाउँ ।
इलामको आइतवारेमा हामी ०३९ सालमा गायक सुनील उप्रेति , विज्ञान श्रेष्ठ, अनुराधा शाह, सुरेन्द्रसिंह सुवाल, वीरेन्द्र सुवाल , भूपालमान सिंह , दीप तुलाधर, मधुशेखर मानन्धर, रवि खड्का , रोशन कुँवर आदि पुगेका थियौँ ।
कार्यक्रम फ्लप भएर हामी आइतवारेमा वास बस्दा मैले राईजीको घरको अगाडि बम्बइैसान निकै खाएँ ।
अँग्रेजीमा भन्छन् नि , वन्स् अपन अ टाइम ।
त्यो मेरो लागि त्यस्तै अनुभव थियो , त्यसपछि मैले आजसम्म बम्बईसान खाएको छैन , बम्बई पुगेर पनि खाइँन ।
बम्बई नाउँ मैले फिल्म हुदो देखेको हुँ तर अझै मलाई यो नाउँ अमेरिकाको फ्लोरिडा काउन्टीको डेढदुइलाख जनसंख्या भएको गाउँको नाउँ ब्रिटीशहरुले सापटी लिएर राखेको भनेर थाहा पाएपछि खूब मनपरेको हो ।
बम्बईबाट आएको फिल्मी ब्वाईको आजको रात श्वेतासितको भेट अपेक्षा गरिएको भन्दा दुइघन्टा पछि भयो ।
कुराकानी चल्यो । दुःखपूर्ण सम्झनामा विछोड , वियोगका दिनहरुको कुरा गरियो ।
त्यो रात म पाहुना नै थिएँ ।
भोलिपल्ट मात्र प्रेमी भएँ ।
भोलिपल्ट प्रेमीलाई प्रेमिकाले सुनाइन् , अब मेरो विहे हुँदैछ हजुर । घरि घरि मलाई भेट्न नआउनुस् ।
पहिलो प्रेमको अन्तिम सिक्वेन्स थियो , एक्जिटको सिन मेरो थियो । चूपचाप सुनें, चूपचाप फर्केँ । फैज अहमद फैजको नज्मको पंक्ति सम्झिँदै …
और भी गम है ,
जमाने में मुहब्बत के सिवा ।
ब्याक् टु बम्बई ।
त्यसपछि श्वेताको विहा भयो दार्जीलिँगतिर वा सिक्किमतिर कतै । म गइँन । बे्रख्तको किताब पढ्ने दिन पहिलो प्रेमिकासित कुनै प्रेमपत्र नलेखी छुटानामा भयो ।
त्यसपछि आजसम्म म राभाँग्ला गएको छैन । र, देखेको पनि छैन । मेरो पहिलो प्रेमको अन्तिम चिहान यहीँ बन्यो ।
मैले प्रेम गर्दैगर्दा त्यहाँका एक स्थानीय भाइ याप्चुँग भुटियाले मलाई एकदिन भनेको थियो , तपाइँको जस्तै यहाँ एक्टर राज बब्बरको स्मिता पाटिलको लभ परेको थियो
राभाँग्लामा राज बब्बर र स्मिता पाटिलको शपथ फिल्मको शुटिँग भएको मलाई थाहा थियो तर ती दुई बम्बैया कलाकारको हुस्न भी आप है , ईश्क भी आप है भन्ने गीत छायाँकन गर्दा लभ परेको कुरा मलाई स्कुले कान्छा भन्ने मेरा हितैषीले राबाँग मै सुनाएका थिए ।
सामाजिक सञ्जालतिर आजकाल राबाँगको फोटो देख्छु त्यो चारधाम बनेछ, पवन चाम्लिँगको एसडीएफ सरकार आएपछि ।
मेरो प्रेम धाम अहिले चार धाम बनेको खबरले म आल्हादित पनि भएको छु ।
श्वेताले मलाई ब्रेख्तको पोय्ट्री पढ्न दिँदाको समय , काल र दिक् अर्कै थियो, सिक्किममा नरवहादुर भण्डारीको मुख्यमन्त्रीत्व थियो उनको पार्टी सिक्किम संग्राम परिषद् सरकारमा आफ्नो झन्डा र डन्डा फैँलाउँदै थियो । त्यही पार्टीमा पवन चाम्लिँग पनि थिए, उनी त्यही सरकारमा सडक निर्माण यातायात मन्त्री थिए । त्यतिवेला चाम्लिँग निर्वाण नामक् पत्रिका पनि निकाल्थे , नाम्चीबाट ।
नेपालको नाम्चे बजार जस्तै सिक्किममा पनि नाम्ची छ भन्ने कुरा मैले सिक्किम गएर नै थाह पाएँ ।
नामचीको गल्र्स होस्टलमै त्यतिवेला श्वेता बस्थिन् । उनको आउटिँगको समय बेलुका चारबजे पछि पथ्र्यो । नामचीको हेलिप्याडतिर उनी आउटिँगमा आउँदा हाम्रो भेट हुन्थ्यो ।
सुने अनुसार अब शायद त्यो हेलिप्याड पनि छैन ।
अहिले त भण्डारी पनि छैनन् ।
उनको पार्टी पनि शायद विलय भइसक्यो ।
अनि हाम्रो प्रेम पनि फ्लप भएर उपन्यासमा कतै नलेखिइने विषय भइसक्यो । प्रकाश कोविदलाई भेटेको भए यसको राम्रो उपन्यास उनले लेख्थे शायद ।
कोविदलाई मैले सन् ८० को दशकमा काठमान्डूमा भेट्दा गीतकार कर्ण लामाका छोरा यादेशको कथामा अनुरोध उपन्यास लेख्दै थिए , उनी यसरी उपन्यास लेख्न खप्पीस थिए । यो रचनागर्भ उनले आफ्ना साथी पारिजातलाई भेट्न म्हैपी जाँदै गर्दा मलाई सुनाएका थिए तर मेरो पहिलो प्रेम कथा त प्रकाश कोविद वितेपछि पो शुरु भयो ।
मेरो प्रथम प्रेम कथाको अन्त्य हुँदा नारायणगोपालले उनको ऐतिहासिक कार्यक्रम स्वर्णीम सन्ध्यामा भूपीको गीत गाईसकेका थिए ,
धेरै हाँसे जिन्दगीमा रुनु पर्दोरहेछ
हाँसोलाई आँसुले धुनु पर्दोरहेछ
नरोऊ नरोऊ भन्दा पनि के रुक्थे
यी मेरा आँसुहरु …..
यस्तो लाग्थ्यो , नारायणगोपालको गीत वास्तविक हो मेरो प्रेम चैँ रिहर्सल ।
स्वर्णीम सन्ध्यामै नारायणगोपालसितै उभिएर खिँचेको कोडाक् कलरका फोटो बोकेर प्रेमीको प्रोक्सी रोलमा सिक्किम पुगेको थिएँ , रिहर्सल गर्न ।
त्यो भेटमा उनले मलाई बे्रख्तको काकेशियन चेक सर्कल मेरो हातमा दिइन् र मैले त्यही फोटो दिएर हामी छुट्टियौँ ।
प्रथम प्रेमको वेला तिनले भनेकी थिई , तपाइँको हुन सकिनँ भने म मेरो नाम नै बद्लिइदिन्छु ।
तर त्यो भेट पछि तिनले नाम होइन थर चैँ बद्लिई ।
ब्रेख्तको काकेशियन चेक सर्कल मसितै रह्यो ।
किताप फ्याँक्न मन थिएन तर कसैलाई दिन पनि सकिनँ । आफूले बोकेर हिँड्दा सम्झना र यातना दुवै बोके जस्तो लाग्न थाल्यो ।
संयोगले एकदिन मेरो हातबाट त्यो किताप रंगकर्मी सुनील पोखरेलले सापटी लिए, मैले पनि त्यसको बदला उनी सित स्वैन बन्धु लिखित फिल्म स्क्रिप्टराइटिँग खोसे लिएँ , उनी ब्रेख्त नफर्काउने थिए म स्क्रिप्टराइटिँग ।
मेरो प्रेम अन्त्य हुँदा सुनील त्यतिवेला जोड प्रेममा थिए , भविष्यको ससुरालीमा गएर ऊ केविन कोस्टनर को द फिल्ड अफ् ड्म्सि हेर्थे । म मेरा मित्र नूतन सिंहले लेखेको प्रथम प्रेमको खोजमा कथा पढ्दै थिएँ मलाई थाह थिएन , लेखिकाको रुपमा नूतनको यो पहिलो रचना थियो । मलाई यो पनि थाह थिएन , मधुपर्क का सम्पादक नारायणवहादुर सिंहले आँकुरा मा प्रकाशित नगरिकनै उनलाई कथाकारको रुपमा लञ्च गर्दै थियो ।
नूतन त्यो वेला जर्मन भाषा केन्द्र गोयथे इन्स्टिच्यूटमा जनसम्पर्क हेर्थिन् ।
मैले अलि अलि ब्रेख्त उनका कारणले पनि पढिसकेको थिएँ । काठमान्डूमा पहिलो पटक बे्रख्तको नाटक अब बाँकी नै के छ र हुँदा म नूतनसित दर्शकदीर्घामा थिएँ । आफू एक रंगकर्मी भए पनि मैले ब्रेख्तको नाटक गरेको थिइँन , यहाँ कसैले पनि गरेका थिएनन् ।
ब्रेख्तको नाटक अब बाँकी नै के छ र हुँदा म नूतनसित रिहर्सलमा पनि जान्थेँ , ती पात्रहरुलाई हेर्न जुन पात्र मभित्र थिएन ।
बे्रख्तको नाटक नेपालीमा पहिलो पटक मञ्चन हुँदा न बे्रख्त सित प्रेममा थिएँ न आफैँ प्रेममा । जब होटल बज्रमा सेभेन थिएटरले थ्री पेनी अपेरा मञ्चन गर्दा म भरपूर प्रेममा थिएँ ।
र मलाई नाटककी निर्देशक सविना लेहमनले एउटा भूमिकामा चयन पनि गरेकी थिइन् , लुड्मिला, मेरी इभान्स् , स्याँग्बो वाहेक म सबै रिहर्सलमा दिनभरि बस्थ्यौँ अनि राति म त्यही होटलमा ड्युटी गर्थेँ ।
नाटक मञ्चन हुने वेला म आउट भएँ , अर्को एकजना कलाकारले प्रवेश पाए ।
मेरो रोल यही सकियो , म रिहर्सलमा थिएँ ।
ब्रेख्त नाटक कसरी लेख्थे मलाई थाहा थिएन तर कविता कसरी लेख्थे त्यो चैँ मैले फ्रेन्च फिल्मकर्मी ज्याँ रेनुको आत्मकथामा पढिसकेको थिएँ , उनले लेखेका छन् ,
प्रायः बे्रख्त मलाई भेट्न मेरो म्युडेनको निवासमा आउँथे जहाँको भेट उनलाई खूब जम्थ्यो । ब्रेख्त आफ्ना सहयोगी बर्लिन महिलासित आउँथे , ती महिला टाइपराइटर जस्तो देखिने हेक्सागोनल एकोर्डिन लिएर आउँथी , मलाई लाग्छ त्यसलाई कन्सर्टिना भनिन्छ शायद । हान्स् एज्लर , कर्ट वेइल र लोट्टे लेन्या पनि उनीसँगै आउँथे । ब्रेख्त मलाई पुराना फ्रान्सेली गीत गाउन लगाउथे । मलाई सूरतालको ज्ञान थिएन म राम्रो गाउँदिनथेँ । कमसेकम ब्रेख्तलाई यसले केही असर पार्दैनथ्यो , उनकी सहायिकाले त्यो धुन कन्सर्टिनामा टिप्थिन् । र ब्रेख्त पछि त्यही धुनलाई पक्डेर कविता लेख्थे । ब्रेख्त र कोचमा यस्ता धेरै समानता थिए ।
…. म यी पंक्ति पढ्दै गर्दा बे्रख्तबाट धेरै टाढा र ब्रेख्तको नाटकसित धेरै नजीक थिएँ ।
एकदिन यस्तै समय ब्रेख्तको उदास नगरमा आफ्नो प्रथम प्रेमको अवसानको कथा बुन्दै गर्दा साथी सुनील कापी र कलम लिएर मलाई भेट्न आई पुगे ।
उनी कहिले फर्केर भारतको दिल्ली जान्छु भन्थे, कहिले विराटनगर । कहिले पत्रिका चलाउँछु भन्थे , कहिले के ?
उनलाई प्रज्ञा प्रतिष्ठानका एक जना प्राविधिकले ट्कमा हालेर थानकोटबाट कटाईदिउँला भनेको कुरा उनी दुःखका साथ मलाई सुनाइरहन्थे ।
यसपालि उनी मेरो अन्तर्वार्ता लिन आएका थिए , छयालीस सालको जनआन्दोलनको उभार थियो , सुनीलको फ्रस्ट्रेसन अहिले आफ्नो कोलममा देखिन्थ्यो ।
मैले सामाजिक हिंसा, समलैँगिकताको समस्या , र नेपाली नाटकमा ब्रेख्तको जस्तो नाटकको अभावका कुरा गरेँ , त्यो छापियो देशान्तर साप्ताहिको उनको स्तम्भ सूत्रधार मा ।
नेपालमा टेलिभिजन थियो तर टीभी सिरीयल राम्रा थिएनन् ।
नेपालमा सिनेमा बन्थे बजार राम्रो थिएन ।
एकदिन सुनीलले मलाई ब्रेख्तको नाटक बोकेर भेट्न आए र भने , प्रकाश । काठमान्डूमा तिम्रो राम्रो जानपहिचान छ, यो नाटक काठमान्डू चोकचोक र डबलीमा गर्नुपर्यो ,तिमीले मलाई फुल्ली हेल्प गर न यार ।
सुनील मेरो साथी मात्र होइन , सहपाठी पनि हो । ऊ र म प्रज्ञा प्रतिष्ठानको कलाकार प्रशिक्षणको परियोजनामा सँगैसँगै थियौँ तर ऊ एकवर्ष अगि पास आउट भएर गईसकेको थियो ।
दिल्लीको एनएसडीमा परीक्षा दिएर आएपछि बद्री जी ( अधिकारी ) र उसलाई मैले मरुढोकाको सुलक्षणाको पसलमा माल्पुवा र चिया खाँदै गर्दा भेटेर सोधेको थिएँ , के भयो एनएसडीमा ?
काफ्का पात्र जस्ता लाग्ने ती दुवै मेरो प्रश्नले त्रसित भए ।
मलाई लाग्थ्यो , दिल्ली जाने आइडिया बद्रीजीकै थियो तर बद्रीजी फेल भए शायद । त्यसपछि उनी नाचघरका जागिरे कलाकार हुँदै जीवन रेखा चलचित्रमा कलाकारको रुपमा प्रवेश भए ।
सुनील फिल्मबाट फालिएका थिए , त्यसपछि सुनीलले चेतन कार्कीको फिल्म विश्वास मा कोशिश गरे , उनी त्यहाँबाट पनि फालिए ।
पछि उनी आफ्नो पहिलो प्रेम थिएटर मै अडे ।
सुनीलले ब्रेख्तको सेँचुआको असल मान्छे गर्छु भनेपछि मैले उसलाई लिएर काठमान्डूका गल्ली गल्ली घुमेँ । असनका मेरा साथीहरु यज्ञरत्न तुलाधर, चरण प्रधान, शीलरत्न तुलाधरले खूब सघाए । नेपालभाषाका कवि नाति बज्रले आफ्नो टोल दुगँबहिलमा मञ्चन गर्ने व्यवस्था मिलाइदिए भने ईनापका सम्पादक मल्ल के सुन्दरले थायमरु मा मञ्च दिए ।
काठमान्डूको सर्वत्र यो नाटक मञ्चन भयो तर म रिहर्सलमा वाहेक मञ्चमा भइँन । यो मैले सुनीललाई भरपूर सहयोग गरेको एउटा विशेष नाटक थियो , मेरो पहिलो प्रेमिकाको ब्रेख्त अब्शेसनका कारण ।
यो सकियो त्यसपछि ।
त्यसपछि सुनील सित आरोहण शनिवारका का निम्ति मैले मोहन राकेशको आषाढका एक दिन र ज्याँ पल सात्र्रको मैन विदाऊद स्याडोज् पनि अनुवाद गरेँ , दुवै पाण्डुलिपि अझै मसित सुरक्षित छ । सात्रको मैन विदाऊद स्याडोज् मैले मुम्बईबाट ल्याएको थिएँ , यसको नेपालीकरण भएर मञ्चमा आउँदा विना चिहानको मृत्यु भएर प्रस्तुत भयो । खोई , के कारणले हो यसको अनुवादमा सुनीलले मेरो नाउँ दिन चाहेन । आएन पनि । तर उसले मलाई एउटा रोल गर न दिल्लीमा देखाउन जाँदा घुम्न जान पाइन्छ भने ।
भ्रमणको लोभले भारी बाक्ने एउटा रोल भएपनि गरौँ कि भन्ने पनि लाग्यो तर गरिनँ किनकि मेरो अभिनय गर्ने भोक पहिलो प्रेमसँगै सेलाईसकेको थियो ।
अभिनय गर्ने शौकमा एकपटक म मेरा मित्र ध्रुब श्रेष्ठको सहयोगमा एउटा सभामा पुगेँ । त्यहाँ कैलाश कार्की , हरि रोका जस्ता साथीहरु भेट भए जहाँ नाटक मञ्चन गर्ने कामका लागि बोलाइएको थियो त्यहाँ हामी पुग्दा एकजना वृद्धपुरुषले सबैलाई शपथ खुवाउँदै थियो । म झस्केँ र उठेँ ।
ध्रुबजी यो त पार्टीको शपथ ग्रहण पो रहेछ ।
ध्रुबजीले स्पष्ट भन्नु भयो , फेडरेशनको आज …
त्यो सभाबाट म हिँडेपछि मैले ती पात्रहरुलाई अखबारमा वाहेक आजकाल कतै भेटेको छैन ।
त्यो पनि मेरो रिहर्सल मात्रै थियो ।
यो सम्पूर्ण रिहर्सल पछि पनि म आजकाल रेष्टुराँमा खाजा वा केही खान जाँदा नून र खुर्सानी राखिएको डब्बामा पी र एस लेखिएको डब्बा देखिएपछि श्वेतालाई सम्झिन्छु तिनी भन्ने गर्थिन् ,
हेर्नोस् यो पी तपाइँको नाम र एस मेरो नाउँ । यो दुईटा डब्बा जबसम्म रहन्छ हाम्रो प्रेम अमर छ ।
क्याफे, रेष्टुँरातिर यस्तो रिहर्सल पनि हामीले धेरैपटक गर्यौँ । हामीले प्रेमको रिहर्सल गरेको समय फेसबुक हुँदो हो त हाम्रो प्रोफाइलमा हाम्रो आइडी ‘पीएस’ नै हुन्थ्यो कि ?


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।