भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रोक्न र मानार्थ महारथिको दर्जा नदिन मोर्चाको आग्रह


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित




संयुक्त देशभक्त मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न सरकारसँग माग गरेको छ । मोर्चाका तर्फबाट प्रवक्ता रामबहादुर पौडेलले शनिबार प्रेस वक्तव्य निकाल्दै कालापानीबारे विवादित अभिव्यक्ति दिने भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण रोक्न माग गरेका हुन् ।

कालापानी, लिम्पीयाधुरा र लिपुलेकबारे नेपाल कसैको ईशारामा चलिरहेको भारतीय सेनाध्यक्ष नरवणेको अभिव्यक्ति निन्दनीय लज्जास्पद भएको उल्लेख गर्दै मोर्चाले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिन माग गरेको छ । मोर्चाले विवादकाबीच नरवणेलाई सम्मान दिनू नेपाली जनता र नेपालको हितमा नरहेको स्पष्ट पारेको छ ।

लिम्पीयाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्र कब्जा गरेर बस्ने भारतीय सेनाका प्रमुखको नेपाल भ्रमण र उनलाई दिने सम्मान रद्ध गर्नका लागि मोर्चाले सोमबार पोखरामा १ घण्टा प्रदर्शनपनि गर्ने भएको छ । मोर्चाले जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि सोमबार पूर्वाह्न १० बजे सामाजिक दुरी कायम गर्दै १ घण्टा शान्तिपूर्ण धर्ना दिने प्रवक्ता पौडेलले जानकारी दिए ।

लिम्पीयाधुरा, लिपुलेक र कालापानी मुद्धा नसुल्झिदै भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने तयारी

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गर्ने भएका छन् । उनले यहि कात्तिक १९ गतेदेखि २१ गतेसम्म ३ दिने नेपाल भ्रमण गर्न लागेको नेपाली सेनाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनाएको हो ।

नेपाल भ्रमणका बेला भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिईने भएको छ । उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

नेपाल र भारतबीच सीमा सम्बन्धी विवाद रहेका बेला भारतीय सेनाध्यक्ष नरवणेले नेपाल भ्रमण गर्न लागेका हुन् । नेपाल र भारतबीच लिम्पीयाधुरा, लिपुलेक र कालापानीका विषयमा विवाद रहँदै आएको छ । भारतीय पक्षले सो क्षेत्रहुँदै चीनको मानसरोवर जाने बाटोको उद्घाटन गरेपछि यो विवाद उत्कर्षमा पुगेको थियो । सो घट्नालगत्तै नेपालले विवादित तीनवटै क्षेत्र समेटेर नया नक्सा बनाउनुका साथै त्यसमा निशान छाप लगाईसकेको छ । नेपालले ऐतिहासिक दस्तावेज, तिरो तिरेको रसिद र बासस्थानका आधारमा ती क्षेत्र नेपालको भएको दाबी गर्दै आएको छ ।

तर यो विवाद नसल्टिदै भारतीय सेनाध्यक्षले नेपालको भ्रमण गर्न लागेका हुन् भने यहि बेला उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिदैछ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विशेष समारोहका बीच कात्तिक २० गते नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ भने जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नरवणे स्वदेश फर्किने दिन कात्तिक २१ गते रक्षमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीलाई भेट गर्ने नेपाली सेनाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।