
सांकेतिक तस्बिर ।
जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई पक्राउ गरेको छ ।
बैंकिङ कसुरको मुद्दामा फरार १, साधारण चोरी मुद्दामा फरार २, करकाप मुद्दामा फरार ८, लिखत बेइज्जती मुद्दामा फरार ६, लागुऔषध मुद्दामा फरार १, गाली बेइज्जती मुद्दामा फरार २, जारी मुद्दामा फरार ३, नाता कायम मुद्दामा फरार १, सम्बन्ध विच्छेद मुद्दामा फरार १ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत तनहुँ तथा उच्च अदालतहरुले गरेको फैसलाअनुसार र तोकेको बिगो जरिवाना तथा कैद भुक्तान नगरी उनीहरु फरार रहेकोमा प्रहरीले आइतबार पक्राउ गरेको हो।
बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६ चैत २ गते ७ दिन कैद र ६ लाख ६७ हजार जरिवाना हुने गरी फैसला गरेको भएको थियो । उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।
त्यसैगरी, साधारण चोरी मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग र सोही नगरपालिका–९ बस्ने माईकल भन्ने सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ । खंगविरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०७६ असार ८ गतेको फैसलाले २ वर्ष २ दिन कैद, २२ हजार ५ सय रुपैयाँ जरिवाना र माईकल भन्ने सन्तोष गौतमउपर २ वर्ष २ महिना ४ दिन कैद र २२ हजार ५ सय रुपैयाँ जरिवना ठहर गरेको थियो। ती दुवै व्यक्ति अदालतबाट फैसला पश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार थिए।
त्यसैगरी, जारी मुद्दामा तनहुँ जिल्ला अदालतको विसं २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही एक÷एक महिना कैद र एक हजार जरिवाना तोकिएका भानुनगरपालिका–६ बस्ने बिमल थापामगर र निजकी श्रीमती सञ्जु थापामगर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा ४ वर्ष ४ महिना १३ दिन कैद र जम्मा ७ लाख १६ हजार ६ सय २० जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो। अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।