मुख्यमन्त्रीको निर्देशनपछि खुल्यो करापुटार–भञ्ज्याङहुँदै मालिङ पुग्ने बाटो


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित




अविरल वर्षाले पहिरो गएर अबरुद्ध लमजुङको रामबजारपदेखि मालिङ पुग्नेबाटो मुख्यमन्त्रीको निर्देशनपछि मर्मतसम्भार गरेर खुलाइएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाटोको स्थलगत अनुगमन पछि बाटो खुलाउन दिएको निर्देशनपछि लमजुङको रामबजारदेखि करपुरटार–भन्ज्याङ–डढुवा–गिलुङहुँदै मालिङ जाने बाटो खुलेको छ । वर्षा याममा ठाउँठाउँमा गएको पहिरोले क्षतविक्षत भएको बाटो खुलेपछि स्थानिय हर्षित भएका छन् ।

पहिरो गएर अबरुद्ध भएको बाटो नखुल्दा स्थानियले समस्या भोगिरहेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङ गत असोज १६ गते भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरुको टोलीसहित अवलोकनका लागि पुगेका थिए । अवलोकनमा जाँदा मुख्यमन्त्रीकै गाडीसमेत फसेर लठ्ठी टेक्दै हिंड्नुपरेपछि मुख्यमन्त्रीले तत्काल सो बाटो मर्मतका लागि निर्देशन दिएको र रफ्तारमा काम गरेर बाटो खुलाइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

बाटो मर्मतसम्भार सकिएपछि सोमबारदेखि बाटो सञ्चालनमा आएको र सवारीसाधनसमेत चल्न थालेको जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले जानकारी दिए । पहिरो गएको ठाउँमा तारजालीसहितको ग्याबिन वाल लगाएर सडक मर्मत गरिएको ईञ्जिनियर गिरीले बताए ।

ईञ्जिनियर गिरीले गण्डकी प्रदेश सरकारले सडक मर्मतका लागि बजेट उपलब्ध गराएको र उपभोक्ता समिति बनाएर सडक मर्मतसम्भार गरिएको उनले जानकारी दिए । सो बाटो मर्मतसम्भारका लागि जनसहभागितासहित २१ लाख रुपैयाँ खर्च भएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।