चेतनाको सम्बाहक-महिला


     अधिवक्ता दुर्गा भण्डारी    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित





आजभोली बिभिन्न संचार माध्यमहरुमा आउने बिज्ञापनमा, मरुन कलरको सारीमा भित्रबाट एकजना सुन्दर महिला बाहिर आउछिन् । सायद उनि कतै बाहिर जान लागेकी हुन् । सम्वादसंगै ती महिलाको नमिलेको सारीको मुजा उनका पतिले मिलाई दिन्छन् । महिलाले पनि पतिलाई कुनै कुराको सुचना,जानकारी शिक्षा दिईरहेकी हुन्छीन् । यो दृष्य नेपाली टेलिभिजनमा आउने नेपाली बिज्ञापन हो । बर्षौ देखि हामीले हेरेका नेपाली या हिंन्दी सिनेमा, सिरियल र बिज्ञापनमा पुरुषको सेवा गरेको मात्रै पाउथ्यौं । महिलाले पुरुषलाई अफिस जानका लागि कोट लगाइदिने, रुमाल,जुत्ता, ब्याग,गाडी या मोटरसाईकलको चावी दिंदै गरेको देखिन्थ्यो । यो पहिलो पटक प्रसारण भएको यस्तो बिज्ञापन हो जस्मा पुरुषले महिलाको सारी सहजै मिलाई रहेको र महिलाबाटै कुनै कुराको जानकारी शिक्षा लिईरहेको देखाईएको छ । हाम्रो सत्ता, सरकार पार्टी, प्रशासन जतासुकै पनि मंचमा बस्ने भाषण र प्रवचन दिने पनि पुरुषहरुले नै हुन्छन् । बिज्ञापनहरु हजारौं छन् । जसमा पुरुषले महिलालाई शिक्षा, सुचना वा जानकारी दिएको पाईदैन । तर यो पहिलो बिज्ञापन हो, महिलाले पतिलाई सुचना वा जानकारी गराएको देखाईएको छ ।
यो एनआइसी एसिया बैंकको बिज्ञापन हो । एनआइसी एसियाले आफ्नो बार्षिक उत्सवको अवसर पारेर ल्याएको चमत्कारीक योजनाको बारेमा जानकारी गराउन गरिएको बिज्ञापन हो । यो बिज्ञापनलाई नियाल्दा, समाजले महिलाप्रति गर्ने ब्यवहार, दृष्टिकोणलाई नै बदल्न खोजिएको छ । दयाहाङ राई र केकी अधिकारीले अभियनय गरेको यस बिज्ञापनमा महिला र पुरुषको समान हैसियत र अस्तित्व देखाईएको छ ।

हामीहरुले अहिले सम्म महिलालाई गुडियाको रुपमा चित्रित गरिएको, मानोरन्जनको साधन बनाएको, निरिह र लाचार पात्रको रुपमा अपमानित गरिएका सिनेमा सिरियल र बिज्ञापन हेरिरहेका छौं । हाम्रो मानसिकतामा पनि महिला यस्तै खालका हुन् भन्ने लागेको हुन सक्छ । बिकसित देशहरु युरोेप अमेरिका अष्ट्रेलिया लगायतमा पुरुषहरुले महिला प्रति गरेको सम्मान देख्दा, सुन्दा हामी अचम्मीत बन्छौं । अफिस जादा होस या अफिसबाट आउदा पुरुषले पनि महिलाको कोट फुकाली दिएको । खाना बनाई रहेको, बालबच्चा हेरिहेको अवस्था । घरायसी र बाहिरी काममा दुबैको बराबरी साझेदारी भएको अवस्था । बिशेष गरी दक्षिण एशियाली मुलुकमा कामकाजी महिलाहरु दोहोरो मारमा परेको देखिन्छ । नेपालमा पनि महिलाहरु आर्थिक उपार्जनको क्षेत्रमा आउने क्रम क्रमश: बढ्दै गएकोछ । घर बाहिरको काममा पनि महिलाहरुको संलग्नता बढ्दै गईरहेको छ । घर बाहिरको पनि काम गर्ने कामकाजी महिला एक्लैले घर भित्रको पनि काम गर्नुपरेको अवस्था छ । हाम्रो सामाजको चेतनास्तर, संस्कार, पारिवारीक पृष्ठभूमि र पितृसत्तात्मक सोचका कारण पुरुषहरुले घर भित्रको काम गर्नुहुदैन भन्ने मान्यता रहेको छ । यस्तो सोचले जरा गाडेको हाम्रो समाजमा, महिलाको ब्यक्तिगत काममा समेत मद्दत गरेको कुरा बिज्ञापन मार्फत देखाईएको छ । यसरी सार्वजनिक राष्ट्रिय प्रसारण माध्यमबाट प्रसारण गर्नुलाई समाजको सोच बदल्ने संकेतको रुपमा लिन सकिन्छ ।
नेपाली समाजमा कामका लागि पुरुषहरु बिदेशिने परम्परा बसेको पनि धरै भयो । बृटिस र इन्डियन आर्मीका रुपमा काम गरेर स्वदेश फर्कदा केहि पुरुषले बिदेशको संस्कार पनि नभित्र्याएको होईन । बृटिस र इन्डियन आर्मीको घरपरिवारमा पुरुषले पनि घर भित्रका काम गरेको देख्नपाईन्छ । त्यसैगरी जनजाती समुदायमा घर भित्रको काम पुरुषहरुले महिलाको भाग भनेर छुट्टाएको पाईदैन । अहिले युवाहरु पढ्न या रोजगारीका लागि बिदेश जाने क्रम बढेको छ । बिदेश गएसंगै उनिहरुले त्यहाको संस्कार पनि भित्र्याएको पाईन्छ । खास गरी बिदेशमा बस्ने नेपालीहरुले पनि यो महिलाको यो पुरुषको काम हो भनेर बिभाजन गरेको देखिदैन । परम्परावादी, पुरतनबादी सोच राख्ने परिवार भित्र भने यो तोड्न धेरै गाहे छ । हाम्रो यस्तो सोचाइलाई आमसंचार माध्यमले पनि अहिले सम्म मलजल गरिरहेको छ ।
आमसंचारमाध्यबाट आउने हिन्दी तथा नेपाली टिभी सिरियलमा महिलाको स्थान र हैसियतलाई नजरअन्दाज गरेको पाईन्छ । बिशेष गरी महिलालाई मनोरन्जन र उपभोग्य बस्तुको रुपमा चित्रित गराईन्छ । सिरियल, सिनेमा र बिज्ञापनहरुमा पनि महिलालाई घरभित्रको काममा सिमित गराईएको, पतिब्रता नारी र केहि गर्न नसक्ने निकम्मा, अर्काको भर पर्ने खालको निहि प्राणीको रुपमा महिलालाई प्रस्तुत गरिन्छ । आमसंचारमाध्यममा आउने नकारात्मक सिरियल तथा बिज्ञापनले, दर्शकमा पनि नकारात्क सोच जन्माउछ । सबै भन्दा घातक त के हुन्छ भने नया पुस्तालाई पनि यो सोचले गांज्न सक्नेछ । धेरै जसो गितसंगितले महिलाको भूमिकालाई मानोरन्जन दिने साधनको रुपमा प्रस्तुत गरेका हुन्छन् । त्यहि गित संगित, सिरियल सिनेमा र बिज्ञापनबाट दर्शकहरुले सिको सिक्ने गरेका हुन्छन् । दर्शकहरुले सिनेमा सिरियल र बिज्ञापनमा देखाईएको जस्तै फेसन, ब्यवहार, गतिबिधी, सिको गरिरहेका हुन्छन् । जुनसुकै समुहका नेपाली दर्शकहरुले धेरै जस्तो हिन्दी सिनेमा र सिरियलहरु हेर्ने गर्दछन् । ती सिनेमा र सिरियलमा महिलालाई जिस्काएको, यौन शोषण गरेको, बलात्कार गरेको जस्ता घटनालाई प्रधानता दिइएको हुन्छ । महिलालाई निरिह पात्रको रुपमा चित्रित गरिन्छ । के महिला पात्र सांच्चि कै निम्छरो हुन् त ? यस्ता दृष्यले एकातिर महिला कमजोर छन् भन्ने देखाउछ भने अर्कोतर्फ पुरुषले जे गरेपनि हुन्छ भन्ने मानसिकताको बिकास भएको पाईन्छ । अपराधसंग सम्बन्धीत सिनेमा, सिरियलहरुले महिलालाई मनोबैज्ञानिक रुपमा कमजोर बनाएको छ । बालबालिकाहरुले हेर्दा बाल मनोबिज्ञानमा कस्तो असर पर्छ भनेर ख्याल गरिन्न । बास्तवमा सिनेमा र सिरियलका कथाकार तथा प्रचार सामाग्री उत्पादन गर्ने निर्माताले, दर्शकले कस्तो चाहान्छन् भन्ने बारेमा कहिले सोचेका छन् ? त्यहि पुरानो शैलीमा बनेका छन् अधिकांश सिनेमा,सिरियल र प्रचार सामाग्रीहरु जसले महिलाको मानसिकता कमजोर बनाउने र समाजमा नकारात्मक सोच फैलाउछ । हिंसात्मक, भावना पैदा गर्ने गर्दछ । सिनेमा, सिरियल, प्रचार सामाग्री लगायतले क्षणिक रुपमा मानोरन्जन त दिन्छ होला तर अन्ततगोत्वा यस्ले समाजलाई बिकृत अनि अनैतिकता बनाउछ । पुरानो शैली, सोच बदल्न र महिलालाई स—सम्मान प्रस्तुत गर्न यस्ता खालका बिज्ञापनहरुले सकारात्मक भूमिका खेल्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।