विरोधकाबीच भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित




भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । नेपाली सेनाका प्रधान सेनापतिको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणेलाई आज शीत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच सीमा सम्बन्धी विवाद रहेकै बेला भारतीय सेनाध्यक्ष नरवणेले नेपाल भ्रमण गरेका हुन् भने यहिबेला उनलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको हो । नेपाल र भारतका सेना प्रमुखलाई एकले अर्को देशकालाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने चलन रहेको छ । यद्वपी अहिले नेपाल र भारतबीच लिम्पीयाधुरा, लिपुलेक र कालापानीका विषयमा विवाद रहेको र सो विवादबारे भारतीय सेनाध्यक्ष नरवणेले नकारात्मक टिप्पणी गरेकाले पनि उनलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिन नहुने मत बलियो बनेको थियो ।

नरवणेको भ्रमण रोक्न र उनलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि नदिन पोखरामा प्रदर्शन र धर्ना नै भएको थियो । संयुक्त देशभक्त मोर्चाको अगुवाईमा प्रदर्शन भएको हो ।

बुधबार नेपाल भ्रमणमा आएका नरवणे शुक्रबार स्वदेश फर्किनेछन् । फर्किनुअघि शुक्रबार नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।