कास्कीमा ४१ सहित गण्डकीमा कोरोनाले मृत्यू हुनेको संख्या १०० पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) ले मृत्यू हुनेको संख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले ४ जनाको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १०० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो पटक गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर १० का ५७ वर्षिय कोरोना संक्रमितको मृत्यू भएको जनाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको गएराती ११ः३० मा उपचारकै क्रममा मृत्यू भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, पोखराका एक बालकको पनि मृत्यू भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचाररत उनको गएराती १०ः१५ बजे उपचारको क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ । उनमा निमोनियाको समस्या थियो ।

पोखरा १७ का ७५ वर्षिय पुरुषकोपनि कोरोनाले मृत्यू भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत उनको आज विहान ९ बजे मृत्यू भएको निर्देशनालयले जनाएको छ । उनलार्य कात्तिक १४ गते कोरोना पुष्टि भएको थियो ।

यसैगरी, बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षिय पुरुषकोपनि कोरोना संक्रमणबाट मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको आज विहान ८ः५० बजे उपचारको क्रममा निधन भएको निर्देशनालयले जनाएको छ । कात्तिक ८ गते कोरोना संत्रमण पुष्टि भएको उनमा निमोनियाकोपनि समस्या थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या १०० पुगेको हो । जसमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वतका १ र लमजुङका १ जना रहेको निर्देशनालयको वेभसाईटमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।