ताप्लेजुङ विमानस्थल स्तरोन्नति चैतसम्म हुने


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आज अवलोकन गरेका छन ।
सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । प्रदेश नं १ को राजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताए । अहिले ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२ विमानस्थल कालोपत्रे भइसकेको उनले जानकारी दिए ।
ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर क्षेत्रमा स्तरोन्नति भइरहेको र थप १५० मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकी रहेको जनाइएको छ । कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकाले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजना तयार भएको जनाइएको छ ।
आर्थिक वर्ष २०७६ । ७७ मा सुकेटार विमानस्थल स्तरवृद्धिका लागि र १६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । फुङलिङ नगरपालिका वडा नं ६ मा पर्ने सो विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बङ्गलामुखी जेभी कन्स्ट्रक्सनले आठ करोड ९९ लाख ५० हजार ३४९ रुपियाँ मा ठेक्का पारेको थियो । आयोजनाका प्रमुख इञ्जिनीयर हरि अधिकारीका अनुसार अघिल्लो वर्षको असोजदेखि विमानस्थल स्तरवृद्धिको कार्य शुरु भएको हो ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।