पोखराको महेन्द्रपुलमा २ महिना भित्र ट्राफिक लाईट राखिसकिने


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




पोखराको महेन्द्रपुलमा ट्राफिक लाईट राखिने भएको छ । पोखरा महानगरपालिकाले पोखराको ब्यस्त चोक मध्येको एक महेन्द्रपुलमा ट्राफिक लाईट राख्ने तयारी गरेको हो ।

महानगरले २ महिना भित्रै ट्राफिक लाईट राखिसक्ने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनले भने,‘टेण्डर भइसकेको छ, अबको २ महिनामा महेन्द्रपुलमा ट्राफिक लाईट राखिसक्छौं ।’

ट्राफिक लाईट राख्नका लागि १९ लाखमा निर्माण कम्पनी बिफ्रेण्ड कन्स्ट्रक्सनसँग सम्झौता भइसकेको महानगर प्रमुख जिसीले जानकारी दिए । पोखरा महानगरपालिका र सडक विभागको संयुक्त अध्ययनमा पोखराको कुनै एउटा चोकमा ट्राफिक लाईट राख्नका लागि २ करोड ५७ लाख लाग्ने देखिएको थियो । तर खैरेनीटारका दीपक पौडेलको बिफ्रेण्ड कन्स्ट्रक्सन प्रालिले भ्याटसहित १९ लाखमै ट्राफिक लाईट जडान गर्नेगरी सम्झौता गरेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका पूर्व स्वकीय सचिव लक्ष्मणप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

पोखरा महेन्द्रपुलको ट्राफिक लाईट सफल भएमा पोखराका अन्य चोकहरुमापनि ट्राफिक लाईट राखिने महानगर प्रमुख जिसीले बताए । महेन्द्रपुलमा ट्रायलका रुपमा ट्राफिक लाईट राख्दैछौं,‘उनले भने,‘यो सफल भएमा चाँडै अन्य चोकहरुमापनि राख्छौं ।’

पोखरामा पहिलोपटक ट्राफिक लाईट राखिएको भने होईन । तत्कालिन पोखरा उपमहानगरपालिकाका मेयर कृष्ण थापाको विशेष पहलमा पोखरा कमर्सियल अटो पार्किङ (पिक्याप)ले २०५६ सालमा ट्राफिक लाईट राखिएको थियो । तर त्यो ट्राफिक लाईट २०६२÷६३ को आन्दोलनताका तोडफोड भएपछि मर्मतसम्भारको अभावमा त्यसैर बिग्रेर गएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।