पोखराका संगम र उन्नतीलाई सहकारी पुरस्कार


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




पोखराका दुई उत्कृष्ट सहकारी राष्ट्रिय सहकारी बैंकद्धारा पुरष्कृत भएका छन्।

आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई बैंकले शुक्रवार एक कार्यक्रमबीच पुरस्कृत गरेको हो।

पोखरा शाखामा उत्कृष्ट कारोबार गर्ने रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने नयाबजारस्थित उन्नती बचत तथा ऋण सहकारी संस्थालाई बैंकले पुरस्कृत गरेको हो।

संगम साकोसका अध्यक्ष निरज थापा र उन्नती साकोसका अध्यक्ष राजेश रानाभाटलाई बैंकका संचालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्रसहित पुरस्कृत गरे ।

सहकारी बैंकले केन्द्रीयस्तर, प्रदेशस्तर र शाखास्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको बैंकका संचालक जिसीले बताए।

बैंकको वार्षिक साधारणसभाका अवसरमा केन्द्रीय र प्रदेशस्तरीय पुरस्कार वितरण गर्नुका साथै शाखास्तरको पुरस्कार घोषणा गरी राष्ट्रिय सहकारी दिवसका अवसरमा वितरण गरिदै आएकोमा यसपटक कोरोना संक्रमणका कारण ढिला भएको जिसीले उल्लेख गरे।

कार्यक्रममा पुरस्कृत संस्था संगम साकोसका अध्यक्ष निरज थापाले राष्ट्रिय सहकारी बैंकले सहकारी संस्थाहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

उनले भने, ‘नीति विधि र प्रविधिको प्रयोगमार्फत आम समुदायको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी अभियानलाई थप प्रभावकारी बनाउन समन्वय र सहकार्यको जरुरत पर्दछ ।’

कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, बैंकका सल्लाहकार तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीको स्वागत र शाखा प्रमुख सन्तोष घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

सहकारी बैंकका ४४ शाखामध्ये राजधानी बाहिरको उत्कृष्ट शाखाका रुपमा रहेको पोखरा शाखामा ३ सय ३१ सदस्य संस्था, १६ करोड शेयर पुँजी, ३ अर्ब ३५ करोड निक्षेप र ७५ करोड कर्जा लगानी रहेको शाखा प्रमुख घिमिरेले जानकारी दिए।

राष्ट्रिय सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा संचालनका लागि अनुमति दिएको छ। गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतली बजारमा शाखा संचालन हुने भएका छन्। नयाँ शाखा संचालनको तयारी अन्तिम चरणमा पुगेको बैंकका संचालक जिसीले जानकारी दिए।


   






    


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।