खानेपानी संस्थान उपभोक्तामैत्री बनेको महाप्रबन्धक डा. भूपेन्द्रको दाबी


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थानले उपभोक्ताहितमा काम गरिरहेको बताएका छन्।

पानी शुद्धिकरण आयोजनाको निरीक्षण गर्न पोखरा आएका डा. प्रसादले सिंगो महानगरलाई सेवा दिन संस्थान लागिपरेको बताए।

डा. प्रसादले शुक्रबार नेपाल खानेपानी संस्थान सेतीपारी शाखा अन्तर्गत आभास भवन विस्तारसहित शिलान्यास गरेका छन्।

शुक्रबार भवन क्षेत्रमा भूमि पूजा गर्दै डा. प्रसादले पोखरा महानगर १०, ११, १२, १३, १४, १५ लगायत क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने उल्लेख गरे। पोखरा १२ माटेपानीको ओभरहेड ट्याङ्की क्षेत्रमा बन्ने भवनले आगामी दिनमा उपभोक्तामैत्री बन्न सहज हुने उनको दाबी थियो ।

पोखरामा निर्माण चलिरहेको पानी शुद्धीकरण आयोजनाको अवलोकन, पोखरा महानगर लेखनाथ क्षेत्रमा रहेको खानेपानी उपभोक्ता समितिसँगको छलफल र क्षेत्रीय कार्यालय स्थापनाको योजनामा आएका महाप्रबन्धक डा. भूपेन्द्रले भने, ‘संस्थानको आकार फैलिएको छ।’

डा. भूपेन्द्रले नेपाल सरकार खानेपानी मन्त्रालयबाट हालै विभिन्न सहरमा शाखा विस्तारको योजना स्विकृतिको क्रममा रहेको उल्लेख गरे।

लेखनाथ साना सहरी खानेपानी कार्यालयमा विरगञ्ज शाखाका प्रमुख ईन्जीनियर निरण महर्जन, पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्की, हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादव, ई. सन्तोषकुमार दाससहितको टोली पुगेका महाप्रबन्धक डा. प्रसादले लेखनाथवासीको सेवामा संस्थानले प्राथमिकता दिने उल्लेख गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।