खुर्वादी हुँडिकोट लिफ्टिङ खानेपानीको अध्यक्षमा पौडेल


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




कार्तिक २२ पोखरा । खुर्वादी हुँडिकोट लिफ्टिङ खानेपानी सरसफाई तथा सिंचाई उपभोक्ता समितिको अध्यक्षमा कृष्ण पौडेल(दामोदर) चयन भएका छन् ।

शनिबार सम्पन्न पोखरा महानगरपालिका वडा नं ३३ स्थित समितिको आठौं साधारणसभा तथा सातौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डोलराज पौडेल, सचिवमा सीता महत, कोषाध्यक्षमा विकास महत र सदस्यहरूमा रविन पौडेल, रामचन्द्र पौडेल, मनबहादुर भुजेल, डम्बरबहादुर विश्वकर्मा र फुलमाया परियार चयन भएका छन् ।

कार्यसमिति चयनका लागि वासुदेव पौडेलको संयोजकत्वमा लोकबहादुर महत र कमलप्रसाद पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक पौडेलले अविरको टीका लगाएर बधाई तथा शुभकामना व्यक्त गरे ।

निवर्तमान समितिका अध्यक्ष चेतबहादुर महतले नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुधकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष कृष्ण पौडेल(दामोदर)ले सबैको साथ र सहयोगमा खानेपानी सेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उक्त अवसरमा निर्वतमान समितिका सचिव सदनकुमार महतले नवनिर्वाचित सचिव सीता महतलाई बैठक पुस्तिका हस्तान्तरण गरे ।

२०६५ देखि सञ्चालनमा आएको खानेपानी योजनाबाट त्यहाँका १२७ घर परिवार प्रत्यक्ष लाभान्वित बनेको समितिले जनाएको छ ।

यसअघि साधारणसभाले सचिव महतद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/०७७ सम्मको आर्थिक प्रतिवेदनका साथै सचिवको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।