जुलोजिकल पार्कको विवाद मिलाएर अगाडि बढ्न युनाईटेड क्लवका सल्लाहकारहरुको सुझाव


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




पोखराको लेखनाथस्थित पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर पार्क निर्माणलाई अगाडि बढाउन पोखरा युनाईटेड क्लवका सल्लाहकारहरुले सुझाव दिएका छन् । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको बैठकमा सल्लाहकारहरुले युनाईटेड क्लवको पहलकदमीमा निर्माण हुन लागेको पोखरा जुलोजिकल पार्कमा विवाद आएकाले सो विवाद अन्त्य गरि अगाडि बढ्न युनाईटेड क्लवले नै पहलकदमी लिनुपर्नेमासमेत उनीहरुले जोड दिए । क्लवको पांचौ अधिवेशनबाट निर्वाचित राजु श्रेष्ठको नया टिम र सो टीमले चयन गरेको सल्लाहकारहरुको तेश्रो बैठकमा बोल्ने सल्लाहकारहरुले पोखरा जुलोजिकल पार्कको विवाद बढाउने भन्दा त्यसलाई सहमतिमा समाधान गरेर अगाडि बढ्न सुझाव दिएका हुन् ।.

बैठकमा वोल्दै क्लवका सल्लाहकार सुशीललराज पराजुलीले युनाईटेड क्लवको पहलकदमी र प्रदेश सरकारको सहयोगमा लेखनाथमा पोखरा जुलोजिकल पार्क निर्माणको काम जारी रहँदा देखिएको समस्या सुल्झाएर अगाडि बढ्न सुझाव दिए । उनले भने,‘केहि स्थानिय र पार्क ब्यबस्थापन समिति बिच विवाद सिर्जना हुनु राम्रो होईन, समस्या अदालत नै पुगिसकेपनि त्यसलाई आपसी सहमतिमा सुल्झाउनु उत्तम विकल्प हो ।’

अर्का सल्लाहकार श्यामकृष्ण श्रेष्ठले युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माणको लागि भन्दै बढी भन्दा बढी रकम छुट्याएको र चिडियाखाना क्लवको ड्रीम प्रोजेक्ट भएकाले विवाद बढाउने भन्दा सुल्झाएर अगाडि बढ्नुपर्ने बताए ।

सल्लाहकार पवित्रादेवी गुरुङले चिडियाखाना निर्माण प्रकृया अगाडी बढिरहदा केही त्रुटी भएको र त्यसलाई सच्याएर अगाडि बढ्नु सबैका लागि हित हुने बताईन् ।.

क्लवका संस्थापक अध्यक्ष तथा क्लवका सल्लाहकार हिमालय बख्रेलले पोखरा जुलोजिकल पार्कको विवाद समाधानका लागि आफूले पहलकदमी थाल्ने प्रतिविद्धता जनाए । क्लवले लिएको उद्देश्यमा आफू सँधै लागिपरेको र आगामी दिनमा पनि आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेल्ने उनले बताए ।

क्लवका सल्लाहकार विश्वप्रकाश लामिछानेले क्लवले हालै पोखराको साहित्यको उद्गम थलो लेखनाथको अर्चलेमा जग्गा किनेकोमा खुशी ब्यक्त गर्दै उक्त क्षेत्रमा साहित्य पर्यटनलाई आकर्षित गर्ने गरी क्लवले काम गर्न सके राम्रो हुने सुझाव दिए ।

अर्का सल्लाहकार प्रेमछिरी शेर्पाले क्लवले लिएको उद्देश्यसँगै आगामी दिनमा दायरालाई फराकिलो बनाउँदै सिर्जनशील काममा लाग्नुपर्नेमा जोड दिए ।

क्लवका पूर्व अध्यक्ष तथा सल्लाहकार सुकबहादुर गुरुङले क्लवमा रहेका सम्पूर्ण सदस्य क्लवको उद्धेश्य पूरा गर्नतर्फ लाग्नुपर्ने र सल्लाहकारहरुलेसमेत जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

निवर्तमान अध्यक्ष लालकाजी गुरुङले क्लवको आर्थिक पाटो मजबुत बनाउनका लागि क्लवले महोत्सव बाहेकका अन्य वैकल्पिक योजनाहरु ल्याउनुपर्ने बताए .

लिलाधर अधिकारीले क्ल्वले आफनै भवन निर्माणको लागि तदारुकता देखाउनु पर्ने बताए । गोविन्द अधिकारीले पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा ग्रामीण भेगबाट आउने विरामीहरुलाई लक्षित गरी हेल्प डेस्क राख्न सके राम्रो हुने बताए ।

क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए भने प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।