उद्दार उडान बन्द गर्न सीसीएमसीको सिफारिस

- विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ को उद्दार


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित




वेव तस्विर

कार्तिक २३ काठमाण्डौं । कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार उडान अब बन्द हुने भएको छ ।

सरकारले यसअघि विदेशमा अलपत्र नेपालीको उद्दार उडान मार्फत गर्दै आएको उद्दार सकिसकेको भन्दै उडान बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस गरेको छ ।

सीसीएमसीले कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने निर्णय पनि गरेको छ ।

यो अवधीमा कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताए ।

यसैगरी केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको गुरागाईंले बताए ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

यस्तै सीसीएमसीले कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।