फाल्गुनन्द जयन्तीमा राष्ट्रपति भण्डारीले दिइन् शुभकामना

- ‘जयन्तीले प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस’


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित




राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका संपूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने शुभकामनामा जनाएकी छन्।

राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन्।

शुभकामनामा राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस्।’

किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते उनी जन्मिएको पावन दिनका सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।