तिहारको तीन दिन बैंक नखुल्ने


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित




कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताउछन्। “हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा सङ्क्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौँ”, उनले भने । हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको भन्दै यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको बताएका छन् । सङ्घले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ र एटिएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ । गत वर्ष दशैँ तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।