
कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको पाँच करोड ९८ लाख ३० हजार ६८२ रूपियाँ लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो । तीन वर्षअघि पहिराले खहरेखोलामा कजवे बगाउँदा वर्खायाममा सडक सम्पर्कबाट बिच्छेद माछापुच्छ«े गाउँपालिका–५ रिभानका स्थानीयवासी पुल बन्ने भएपछि उत्साहित भएका छन् । विसं २०७४ साउन २४ राति पहिराले खहरेखोलामा पुलसहित त्यस क्षेत्रका केही घर बगाएपछि स्थानीयवासी यातायात सम्पर्कबाट टाढा भएका थिए । हिउँदयाममा खोलाबाटै सवारीसाधन सञ्चालन भएपनि बर्खामा नदी बढ्दा यातायात सम्पर्कबाट विमुख रहनुपर्ने बाध्यता रहँदै आएकामा गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माण शुरु गरेपछि स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष जुमबहादुर गुरुङले बताए । उनले भने, “वर्खायाममा हाम्रो पूरै वडासहित वडा नं ९ का बासिन्दा समेत सास्ती पाउँदै आएका थियौं । बालबालिका विद्यालय जान÷आउन र बिरामीलाई समेत अस्पताल लैजान नसक्दा सबै चिन्तित थियौँ । पक्की मोटर हिँडने पुल बन्न शुरु भएपछि अब दुःखका दिन गए जस्तो लागेको छ । ” पुल निर्माण भएपछि वडा नं ५ को रिभानसहित छिमेकी वडाका कुईबाङ, मोहरा, तर्को, सैँतीघट्ट, सिदिङसम्मका पाँच हजार जनसङ्ख्या यसबाट लाभान्वित हुने बताइएको छ । उक्त पुलको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आज शिलान्यास गर्नुहुँदै पुल, सडक, खानेपानी तथा सिँचाईका माध्यमबाट प्रदेश सरकार जनताको घरघरमा पुगेको बताए। उनले भने, “जनतालाई आधारभूत सेवा सुविधा उपलव्ध गराउन प्रदेश सरकार लागिपरेको छ । हजारौंको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र सङ्घीयता र त्यसैका आधारमा बनेको सरकार जनताको पीरमर्का र बुझेर काम गर्छ ।” मन्त्री बस्नेतले प्रदेश सरकारले यसै वर्ष यो प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने र काठे पोल विस्थापन गरी फलाम र स्टील पोल राखिने पनि बताए । प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले प्रदेश सरकार गठन भएपछि ग्रामीण भेगमा समेत विकासका पूर्वाधार निर्माणले तीव्रता पाएको बताउँदै माछापुच्छ«े गाउँपालिका वडा नं २ र ३ जोड्ने गरी सेती नदीमा पुल नहुँदा स्थानीयवासीलाई आफ्नै गाउँपालिकामा आउन समेत पोखरा पुगेर आउनुपर्ने बाध्यता रहेकाले यसैवर्षमा पुल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।