फेवातालको ६५ मिटर मापदण्ड बर्खाको समयमा तालको सतह बढेको बेलाको किनारबाट हो : मेयर जिसी


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले फेवातालको ६५ मिटर मापदण्ड बर्खाको समयमा तालको सतह बढेकै बेलाको भएको बताएका छन् । नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको विहीबार पोखरामा आयोजित पहिलो बैठक चलिरहँदा पत्रकारसँग संक्षिप्त कुरा गर्दै महानगर प्रमुख जिसीले फेवातालको ६५ मिटर मापदण्ड हिउँदको समयमा ताल घटेको बेला नभई बर्खाको समयमा तालको सतह बढेको बेलाको कनिारालाई आधार मानिएको दाबी गरेका हुन् । उनले पोखरा महानगरपालिकाले हालै प्रदेश सरकार र नापी कार्यालयसँगको सहकार्यमा तयार पारेको प्रतिवेदनपनि फेवातालको ६५ मिटर मापदण्ड बर्खाको समयमा तालको सतह बढेको बेलाकोलाई आधार मानेको बताए । हिउँदको समयमा तालको सतह घटेको बेलालाई आधार मान्नै सकिदैन,‘यो बर्खाको समयमा तालको सतह बढेकै बेलालाई आधार मानेर मापदण्ड कायम गर्नुपर्छ ।’

महानगर प्रमुख जिसीले महानगरपालिकाले तयार पारेको प्रतिवेदनमा लामिछाने आयोगले भनेजसरी नै ६५ मिटर कायम गर्दा कति संरचना परेका छन् ? अनि ३० मिटर कायम गर्दा कति संरचना पर्छन् भन्ने सबै विवरण रहेको दाबी गरे । उनले महानगरेको प्रतिवेदन प्राविधिक दृष्टिकोणले उपयुक्त भएको भन्दै यहि प्रतिवेदनलाई नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिलेपनि आधार मान्नुपर्ने बताए ।

प्रमुख जिसीले फेवाताल महानगरको सम्पती भएकाले यसको संरक्षण गर्ने जिम्मापनि महानगरकै भएकाले त्यसको स्वामित्व ग्रहण गर्न खोजिएको बताए । सर्बोच्च अदालतको फैसलाले फेवातालको सिमाङ्कन र नक्साङ्कनको जिम्मा संघलाई तथा अतिक्रमित जग्गा फिर्ता ल्याई संरक्षण गर्ने जिम्मा प्रदेशलाई दिएपनि यो महानगरकै सम्पति भएकाले यसको संरक्षणमा महानगरले तदारुकता देखाएको उनको भनाई छ । सोहि अनुरुप फेवातालको सिमाङ्कनसहितको प्रतिवेदन तयार पारेर प्रदेश र संघ सरकारलाई बुझाएको भन्दै उनले भने,‘फेवाताल महानगरको सम्पति हो, त्यसैले संरक्षण गर्ने प्रयास स्वरुप प्रतिवेदन तयार पारेका हौं ।’

महानगर प्रमुख जिसीले फेवातालको समस्या अहिले समाधान नहुने हो भने कहिल्यै नहुने ठोकुवा गरे । ‘अहिलेजस्तो दुईतिहाईको बलियो सरकार हुँदापनि फेवाताल सम्बन्धी समस्या समाधान हुँदैन भने यो समस्या कहिल्यै समाधान हुँदैन’–उनले भने । उनले फेवाताल संरक्षणमा ढिलासुस्ती गर्नु भनेको फेवाताललाई थप समस्यामा धकेल्नु भएकोसमेत बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।