कार्तिक २९ पोखरा । नेपाली काँग्रेसका सहमन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकार अराजकता, बेइमानी, कुशासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले कोभिड–१९ संक्रमण व्यवस्थापनमा सरकारले बेवास्ता गर्दै आएको भन्दै उनले यो सरकारको स्वास्थ्य क्षेत्रप्रतिको उदासिनता हो भने ।
प्रतिनिधिसभा सदस्य एवं काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको स्वर्गारोहणको आज १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधनमा बोल्दै डा. महतले सो कुरा बताएका हुन् ।
उनले लकडाउनले आर्थिक, सामाजिक, पर्यटन क्षेत्रलगायत समग्र क्षेत्र धरासयी भएको उल्लेख गर्दै यो स्थितिमा सरकार जिम्मेवार नबन्दा काँग्रेसले गरेको खबरदारीसमेत नटरेको बताए । उनले लोकतान्त्रिक मूल्यमान्यता संस्थागत गर्ने विषयमा लिखितरुपमा संविधानमा उल्लेख भएपनि सरकारले व्यवहारिकरुपमा सोको कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।
उनले स्व. सूर्यबहादुर केसीले समाजका हरेक तहमा पु¥याएको योगदानको सदा स्मरणीय हुने बताए । केसीको योगदानलाई जीवन्त राख्न सूर्यबहादुर केसी प्रतिष्ठान गर्नुपर्ने सुझाव दिए । व्यावसायिक क्षेत्रमा उहाँको समर्पणलाई राज्यले नजरअन्दाज गर्न नहुने बताए । साथै स्व. केसीका छोराहरुले सो कार्यमा ध्यान दिने विश्वास व्यक्त गरे । स्व. केसीको राजनीतिक बिरासत कायम राख्न ३ दाजुभाइमध्ये १ जना सक्रिय राजनीतिमा आउनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रदेश सांसद कुमार खड्का, पूर्व मन्त्री यज्ञबहादुर थापा, प्रदेश सांसद बिन्दुकुमार थापा, पूर्व सभासद् शारदा पौडेल, सोभियतबहादुर अधिकारी, क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला मधु, क्षेत्री समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, काँग्रेस वडा ७ का इकाइ सभापति नवीन बराल, बोधराज कार्की र परिवारका तर्फबाट पूर्व एसएसपी कृष्ण थापा लगायत केसीको योगदानको बारेमा बोलेका थिए ।
२०१४ सालमा जन्मेमा केसीको ६३ वर्षको उमेरमा कात्तिक १७ गते निधन भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।