कार्तिक २९ पोखरा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज साँझ देशैभर दीपावलीका साथै धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिएको छ ।
तिहारको दोस्रो दिन आज हिन्दू धर्मावलम्बीहरुले बिहान कुुकुर तिहार र साँझ दीपावलीका साथै धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरेका हुन ।
सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा प्रचलन रहेको छ । यसो गर्दा घरमा लक्ष्मी प्रवेश गर्ने मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
आज घर आगन सरसफाई तथा लिपपोत गरि मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पनि पूजा गर्ने चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास रहेको समितिका अध्यक्ष प्रा. डा. गौतमले बताए ।
सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्,’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको प्रा. डा. गौतमले जानकारी दिए ।
यस्तै आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा नराम्रो हुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
यद्दपी यसपटक कोभिड–१९ कारण देउसी–भैलोमा प्रशासनले रोक लगाएपछि पोखरा सहितका जिल्लामा रौनक भने छैन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।