कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित




मंसिर ४ काठमाडौं । कक्षा १२ को परीक्षाको तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक कार्यालय सानो ठिमीले जनाएको छ ।

परीक्षा कोरोना भाइरसको महामारीबीच यही मंसिर ९ गतेबाट सञ्चालन हुँदै छ ।

अहिले उत्तरपुस्तिकाहरू परीक्षा केन्द्रमा पुगिसकेको र अनलाइनबाट पठाउने प्रश्नपत्र निर्माण भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

गत वैशाख ८ मा हुने भनेको परीक्षा कोरोना भाइरसका कारण स्थगित भएको थियो ।
चार हजार एक सय पाँचवटा केन्द्रबाट सञ्चालन गर्न लागिएको परीक्षामा नियमित र आंशिक गरी चार लाख ३२ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

बोर्डका अनुसार १२ हजार ४ सयभन्दा बढी परीक्षार्थीले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन आवेदन दिएको छन् । बाँकी परीक्षार्थीले आफूले पढेको विद्यालय नै रोजेको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

कुल पूर्णांकको ४० नम्बरका लागि परीक्षा हुने छ । यस्तै, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कुल प्राप्तांकलाई बाँकी ४० नम्बरमा गणना गरी अंक जोडिनेछ । कक्षा १२ को नतिजामा कक्षा ११ को पनि नतिजा जोडिने भएपछि यसअघि कक्षा ११ परीक्षा भएको थियो ।

परीक्षा हुने १ घण्टाअगावै प्रश्नपत्र पठाइने र विद्यालयले फोटोकपी गरी विद्यार्थीहरूमा बाँड्नेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।