प्रचण्डको प्रस्तावको प्रधानमन्त्री ओलीले जनताको अदालतमा उभिएर जवाफ दिनुपर्छ : नेता महर


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित




मंसिर ५ पोखरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं नेकपाकै लागि घातक भएको बताए।

‘नेकपाले बालुवाटार र सिलत निवासलाई पार्टी कार्यालय जस्तै बनाएको छ। राष्ट्रपति पनि नेकपाको कार्यकर्ता जस्तो देखिनु भएको छ। जसले पदिय मर्यादामाथि नै प्रश्न उठिरहेको छ’, नेता महरले भने, ‘उहाँलाई म पदिय मर्यादा कायम राख्न आग्रह गर्छु।’

उनले नेकपा चीन र भारतले चलाइरहेको योजना र लक्ष्य विहिन पार्टी भएको बताए। चिनिया राजदूतको सक्रियता र क्रियाकला, भारतीय ‘र’ प्रमुखको क्रियाकलापले पनि सरकारको तालाचावी बाहिरै रहेको प्रस्ट भएको नेता महरको आरोप छ।

उनले सरकारलाई देश र जनतामाथि गद्दारी नगर्न आग्रह गरेका छन्। ‘कम्युनिस्ट सरकार कोरोना महामारी महामारी नियन्त्रणमा चुकिसकेको छ। मल नपाएर छटपटाइरहेका किसान खेतमा देखिन छोडिसकेका छन्’, उनले भने, ‘सरकार अहिले चिनिया दुतावास, सितल निवास तिर मात्रै झुल्किने गरेको छ। जसले देश र जनतालाई घातक मोडमा लैजाने छ।’

नले प्रधानमन्त्री ओलीलाई बेलैमा सच्चिन चेतावनी दिएका छन्। पार्टीभित्रैबाट चर्को विरोध हुँदा पनि कुर्सीमा टासिरहनु ओलीकै लागि लज्जाको विषय भएको उनको तर्क छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।