स्याङजाको आँधीखोला गाउँपालिकाको टुनिखोला सिमलचौर ज्यामिरे सिँचाइ आयोजनाको मंगलबार शिलान्यास गरिएको छ । सिँचाई योजनाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रदेश सरकार अन्तर्गत स्याङजामा ९ वटा सडक कालोपत्रे हुन लागेको जानकारी दिए । दुई वटाको काम शुरु भइसकेको छ भने अन्य सात वटा सडक समेत यसै वर्ष कालोपत्रे हुनेछन् । साथै गण्डकी प्रदेश सरकारले प्रदेश भर ६० वटा नयाँ पुल बनाइरहेको जानकारी दिँदै त्यस मध्ये ८ वटा पुल स्याङजा जिल्लाका मात्रै रहेको मन्त्री बस्नेतले बताए ।
आँधिखोला गाउँपालिकाको पहल र गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको १ करोड ९१ लाख ३४ हजार ८ सय १७ रुरुपैयाँमा निर्माण हुन लागेको सिंचाई आयोजनाको गत जेठ ५ गते ठेक्का सम्झौता भएको थियो । सिंचाई आयोजना आगामी भदौ २४ गते सम्ममा सम्पन्न गर्ने सम्झौता भएको सिँचाई विकास डिभिजन कार्यालय स्याङ्जाका डिई हिमालय पौडेलले जानकारी दिए ।
सिँचाई आयोजना सम्पन्न भइसकेपछि आँधीखोला वडा नं ४ का करिब १०० घर धुरीका १५०० रोपनी क्षेत्रफलमा खेती गर्ने कृषकहरू लाभान्वित हुने आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले जानकारी दिनुभयो । सिँचाइ योजना सम्पन्न भएपछि बर्सादको भरमा मात्रै खेती गर्नुपर्ने अवस्थाको अन्त्य हुँदै कृषि उत्पादनको वृद्धि हुने उहाँले बताउनुभयो ।
आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष शर्मिला पौडेलले गर्नु भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







