वृद्धाश्रम गएगुज्रेको ठाउँ हो : निर्देशक शर्मा


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले वृद्धाश्रम गएगुज्रेको ठाउँ भएको टिप्पणी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले, नर्सिङ तथा समाजिक महाशाखाले पोखरामा आयोजना गरेको ‘जेष्ठ नागरिकको स्वास्थ्य अवस्था र नीतिगत अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले वृद्धाश्रम गएगुज्रेको ठाउँ भएकाले त्यहाँ कोहिपनि जाने अवस्था बनाउन नहुने बताएका हुन् ।

के हामी वृद्धाश्रममा बस्न सक्छौं ? प्रश्न गर्दै उनले भने,‘पक्कैपनि सक्दैनौं र चाहँदैनौं पनि ।’ उनले वृद्धाश्रम कसैको जन्म दिन, वैवाहिक वर्षगाँठ, पून्य तिथि वा त्यस्तै केहि विशेष दिनमा खाद्य सामग्री र कपडाको पोको बोकेर जाने ठाउँ भएकाले त्यस्तो ठाउँमा कसैलेपनि आफ्नो जीवन वितोस् भन्ने नचाहने बताए ।

तर माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले भने वृद्धाश्रमलाई गलत नजरले हेर्न नहुने बताए । वृद्धाश्रमलाई स्तरोन्नती गरेर स्वास्थ्य सेवासहितको सुविधा सम्पन्न बनाउनुपर्ने तर त्यहाँ बस्नेहरुमा हिनताबोध हुने अवस्था आउन दिन नहुने बताए । घरका मान्छे व्यस्त भएर ज्येष्ठ नागरिकले स्याहार नपाउने स्थितिमा वृद्धाश्रम जानुलाई गलत मान्न नहुने उनको भनाई थियो । राज्यले नै वृद्धाश्रमलाई गलत नजरले हेर्ने र त्यहाँ बस्नेलाई सम्मानजनक ब्यबहार नगर्नु दुःखद भएको उनले टिप्पणी गरे । उनले स्वास्थ्य सेवासहितको वृद्धाश्रम बनाउन र त्यहाँ बस्नेलाई सम्मानजनक व्यवहार गर्ने वातावरण निर्माणका लागि राज्यले नै नीति लिनुपर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।