बालबालिकाको हकमा कानूनमार्फत सम्बोधन गर्ने प्रयासमा प्रदेशसभा छ : सभामुख अधिकारी


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बालबालिकाको विषयबस्तुमा एउटै कानूनमार्फत सम्बोधन गर्ने प्रयासमा रहेको बताएका छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा पोखरामा आयोजित बालिकाबिरुद्ध हुने लैङ्गिक हिंसा रोकथाम तथा न्यूनिकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख अधिकारीले यस्तो बताएका हुन्।

उनले बालबालिका अधिकारको संरक्षणका लागि एकीकृत कानूनको निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले समाजमा नागरिकदेखि कार्यकारी प्रमुख सबैमा इमान्दारिताको भावना भएमा कुनैपनि अधिकारका सवालको लडाईं सहज हुने बताए।

त्यस्तै गण्डकी प्रदेश सभाका सांसद धनञ्जय दवाडीले समाजको सामाजिकीकरणको प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेशसभाकै अर्का सांसद मीना गुरुङले बालिका हिंसा नियन्त्रणका लागि विद्यमान कानून कार्यान्वयन गर्दै बालिकाहरुको क्षमता समेत बढाउन पर्ने उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुषालले बालिका हिंसालाई राज्यका सबै तहको सहकार्यमा रोक्न सकिनेमा जोड दिए।
त्यस्तै राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बालिका अधिकार तथा संरक्षणका लागि राज्यले लगानी र सरोकारवालाहरुले निगरानी बढाउनु पर्ने बताए।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदी, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला महाशाखा प्रमुख जमुना पौडेल र मानवअधिकार आयोग पोखराका अधिकृत खिमलाल सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रम गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालको सहकार्य, क्यानालानको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपाल र इन्सेकको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले तथा संचालन इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।