विश्वव्यापी महमारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को प्रभाव अपाङ्गता भएकाहरुलाई नराम्ररी परेको छ । महासंघले हालै गरेको सर्भेक्षणमा कोभिडका कारण अर्थतन्त्र खस्किदा नेपालमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी र आयश्रोत पूर्ण रुपमा गुमाएको राष्ट्रिय अपाङ्गता महासंघले जनाएको छ । बल्ल बल्ल सीप सिकेर सानोतिनो जागिर खाने उनीहरुको पूर्ण रुपमा जागिर गुमेको राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।
महासंघले अतिसक्त पूर्ण असक्त भएका ६० प्रतिशतमा कोभिड र यसको संक्रमणबाट बच्ने उपायबारेमा सूचना नै नपुगेको जनाएको छ । कोभिडपछि अपाङ्गता भएका ४५ प्रतिशतले यसअघी पाउँदै आएको आधारभूत र अत्यावश्यक स्वास्थ्य सेवा प्राप्त गर्न छाडेका छन् । सेवा प्रभावित हुँदा उनीहरु स्वास्थ्य सेवाबाट बञ्चित भएको प्रदेश अध्यक्ष शर्माले बताए ।
महासंघले अपाङ्गता भएर राहत पाउनुपर्ने अवस्थाका ५४ प्रतिशतले राहत पाउन नसकेको जनाएको छ । यसमा सबैभन्दा धेरै पूर्ण र अतिसक्त अपाङ्गता भएकाहरु रहेको शर्माले बताए ।
कोभिडपछि विद्यालय बन्द हुँदा विद्यालयहरुले अनलाईन प्रविधिबाट पठनपाठन सञ्चालन गरेपनि बौद्धिक अपाङ्गता भएका, अटिजमलगायतका अपाङ्गता भएका बालबालिकाहरुले यो शिक्षा लिन नपाएको जनाइएको छ । त्यस्तै बहिरा र दृष्टिविहिन बालबालिकाहरुपनि प्रविधि र पहुँचमा नहुँदा अनलाई शिक्षाबाट बञ्चित रहेको प्रदेश अध्यक्ष शर्माको दाबी छ ।
महासंघले अपाङ्गता भएकाहरुमा देखिएको समस्या समस्याधानका लागि अपाङ्गता भएका व्यक्तिको विस्तृत तथ्याङ्क संकलन गर्नुपर्ने भनेर पहिलो शर्तका रुपमा राखेको छ । त्यस्तै दोश्रो शर्तका रुपमा संविधान, कानून कार्यान्यनसँगै हालसम्मका नीति पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताएको छ । यसैगरी, नीति र कानून कार्यान्वयनका लागि तल्लो तहसम्म पर्याप्त कानूनी शिक्षा दिदै स्थानिय पालिकालाई ज्ञान, सीप, मानवश्रोत र प्रविधिले सम्पन्न बनाउनुपर्ने प्रदेश अध्यक्ष शर्माले बताए ।
महासंघले अपाङ्गता भएकाहरुका लागि रोजगारी, शिक्षा, स्वास्थ्य र सुविधासँगै पुर्नस्थापनाका विषयमा नीति राम्रो बनेपनि कार्यान्वयन फितलो हुँदा अपाङ्गता भएकाहरु त्यसबाट टाढा रहेको जनाएको छ । महासंघले समाजमा अपाङ्गता भएकाहरुलाई हेर्ने परम्परागत र रुढीबादी सोंच अझै जरा गाडेर बसेको तथा अपाङ्गता भएका महिला, किशोरी तथा बालबालिकामाथि हुने यौनजन्य र हिंसाका कृयाकलाप घट्नुको सट्टा बढ्दो रहेको बताएको छ । सरकारलेसमेत रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचलाई विशेष व्यबस्थासहित थप प्रवद्र्धन गर्नुपर्नेमा उल्टै निजामति सेवामा गरिएको ५ प्रतिशतको आरक्षण घटाउने जस्ता प्रयासहरु गरिरहेको भन्दै यसले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनप्रति राज्य गम्भीर नभएको प्रष्ट हुने महासंघको भनाई छ ।
महासंघले राज्यको न्याय प्रणाली अपाङ्गता भएका व्यक्तिको पहुँचमा नभएकोपनि जनाएको छ ।
यसैबीच, आज अपाङ्गता भएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय दिवस, विविध कार्यक्रम गरेर मनाईदैछ । यो दिवस यस वर्ष विश्वभरी ‘विल्डिङ ब्याक बेटर, टुवार्ड अ डिसेविलिटी–ईन्क्लुसीभ, एक्सेसेवल एण्ड सस्टेनेवल पोस्ट कोभिड–१९ वल्र्ड’ भन्ने नारासहित मनाईदैछ भने नेपालमा ‘कोभिड–१९ पश्चात उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नारासहित मनाईदैछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







