आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो । काभ्रेबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूहमार्फत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गरिएको वाग्लेले बताउनुभयो । हरेक वर्ष बाहिरी जिल्लाबाट बीउ ल्याएर वितरण गर्नुभन्दा पनि नगरपालिकाभित्रै आलुको बीउ उत्पादनका लागि ११ वटा समूहलाई बीउ वितरण गरिएको उहाँले बताउनुभयो । “सधँै बाहिरी जिल्लाबाट ल्याएर वितरण गर्दा आत्मनिर्भर बनाउन सकिएन, अब नगरपालिकाभित्रै आलुको बीउ उत्पादन गर्ने र यहीँ उत्पादन भएको बीउ कृषकलाई वितरण गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो । नगरपालिकाले अहिले वितरण गरेको आलुको बीउ उत्पादन भएपछि पहिलो पटक बिक्री गर्न पाइँदैन । उत्पादित आलुलाई चिस्यान केन्द्रमा राखेर अर्को वर्ष मात्रै वितरणको तयारी गरिएको छ । “बीउका लागि उत्पादन भएको आलु पहिलो पटक खानका लागि प्रयोग हुँदैन, उक्त आलु नगर क्षेत्रभित्रका अन्य कृषकलाई वितरण गर्छांै”, उहाँले भन्नुभयो । बीउ उत्पादनका लागि व्यास–५ स्थित सिन्धु सहकारी र हरियाली कृषक समूहलाई ३०÷३० क्विन्टल आलु वितरण गरिएको छ । हरियाली कृषक समूहका अध्यक्ष रविचन्द्र आचार्यले समूहमार्फत १० रोपनी क्षेत्रफलमा आलुको बीउ लगाउने तयारी गरिएको जानकारी दिनुभयो । “यसअघि सहकारीका सदस्यलाई मात्रै आलुको बीउ उत्पादन गर्ने गरेका थियाँै, अब अन्य कृषकलाई पनि लक्षित गरी आलुको बीउ उत्पादनका लागि नगरपालिकाले बीउ उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले खाने आलु वितरणका लागि भने वडा कार्यालयलाई जिम्मा दिएको छ । कृषकलाई वितरणका लागि दुई पटकसम्म बोलपत्र आह्वान गरे पनि कसैले बोलपत्र नभरेका कारण वडा कार्यालयमार्फत नै आलुको बीउ वितरणको जिम्मा दिइएको कृषि शाखाले जनाएको छ । “वडा कार्यालयलाई आलुको बीउ वितरणका लागि पैसा पठाएका छौँ, वडा कार्यालयले आफैँले खरिद गरेर कृषकलाई वितरण गर्नेछन्”, वाग्लेले भन्नुभयो । नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् । रासस…..


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।