जौबारीमा छोराको कुटपिटबाट मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४० वर्षीय छोरा भुवनले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ ।

धापे भन्ने ठाउँमा खेतमा धान झार्ने क्रममा बुधबार विवाद हुँदा छोराले मुक्का र लौराले छाती र खुट्टामा हिर्काउँदा बुबा गम्भीर घाइते भएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । उहाँलाई स्थानीय जौवारी स्वास्थ्यचौकीमा उपचारका लागि पु¥याइएको थियो ।

बाबुछोराबीच के विषयमा विवाद भएको थियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको जनाइएको छ । घटनालगत्तै भुवनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जौबारीबाट खटिएको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याई थप अनुसन्धान शुरु भएको खतिवडाले जानकारी दिनुभयो । शव गोरखा अस्पतालमा परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।