पोखरामा धाँजा फाँटेर २ घर भत्कियो, १ घर जोखिममा


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित



पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित टुटुंगा भन्दा केहि तल रहेको बस्तीमा जमिनमा धाँजा फाट्दा २ घर बिस्थापित भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १५ अमिनतरामा जमिनमा धाँजा फाट्दा अन्य १ घर बिस्थापित हुनैपर्ने अवस्थामा रहेको छ भने थप १२ देखि १५ घर जोखिममा पर्न सक्ने सम्भावना रहेको पोखरा रामबजारका भुपेन्द्र कुँवरले जानकारी दिए ।

चार÷पाँच दिन पहिलेदेखि धाँजा फाट्दा स्थानिय अञ्जित परियार र ऋषि ढकालको घर चर्किएर बस्नै नहुने भएको छ । जसका कारण उनीहरु घर छाडेर नजिकैको खाली जमिनमा पाल टाँगेर बसिरहेका छन् । स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररतसमेत रहेका अञ्जितको घर चर्किएर पूरै भत्किएको छ । ऋषिको भने चर्किएर बस्न नमिल्ने भएपनि भत्काउन भने बाँकी छ । उनीहरुको घर भन्दा थोरै तलको घरपनि जोखिममा छ तर त्यहाँबाट कहाँ गएर बस्ने टुंगो नहुँदा छाडिसकेका छैनन् । बिस्थापित घर भन्दा केहि तल रहेका थप घरहरुपनि जोखिममा पर्न सक्ने सम्भावना रहेको पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले बताए ।

तस्बिर : भुपेन्द्र कुँवरको फेसवुकबाट

अञ्जित र ऋषिको घर बस्नै नमिल्ने भएर चर्किएको छ, वडाध्यक्ष पौडेलले भने,‘त्यसमध्ये अञ्जितको घर त भत्किसकेको छ । ऋषिको घरमा बस्न नमिल्ने भएपनि भत्काउन बाँकी छ, त्यो भन्दा तलको थप एक घर अत्यन्त जोखिममा छ, त्योपनि बिस्थापित हुने अवस्थामा छ ।’ उनका अनुसार जोखिममा पर्नसक्नेमा भागवत भाष्कर कमलनयन गौतमले सञ्चालन गरेको गुरुकुल आश्रम पर्छन् ।

अहिले धाँजा फाटेको ठाउँ पुरुवा ठाउँ भएको बताइएको छ । केहि वर्षअघी जग्गा दलालले त्यो ठाउँलाई पुरेर प्लटिङ गर्दै बेचेका थिए । सेती नदीको डिलमा पर्ने सो क्षेत्रमा पहिले पोखरा महानगरपालिकाले ५० मिटरको मापदण्ड बनाएको थियो । तर महेन्द्रपुल, नयाबजार क्षेत्रमा ५ मिटर मात्र मापदण्ड बनाउने अनि हामीलाईचाहिं किन ५० मिटर बनाएको ? भन्दै स्थानिय डेलिगेसन गएपछि मापदण्ड ३० मिटरमा झारिएपछि त्यहाँ बस्ती निर्माण भएको वडाध्यक्ष पौडेलले बताए ।

घर भत्किएर बिस्थापित परिवार अहिले पाल टाँगेर बस्ने गरेका छन् । यसको जोहो वडाध्यक्ष प्रकाश पौडेलको पहलमा वडा कार्यालय र रेडक्रसले गरिदिएका छन् । उनीहरुलाई खाने, बस्ने ब्यबस्था गरिएको भन्दै स्थायी समाधान के गर्ने भन्नेबारेमा छलफल भइरहेको वडाध्यक्ष पौडेलले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।