कास्कीको पर्यटकीय गन्तव्य मौजा आँटीघर पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पोखरा बजारदेखि करीब १५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा पर्ने पोखरा महानगरपालिका वडा नम्बर २० मा पर्ने मौजा आँटीघर आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । मौजा आँटीघर पर्यटकीय हिसाबले मात्र होईन, ऐतिहासिक रुपले पनि महत्वपूर्ण मानिन्छ ।

त्यहाँको दुई सय वर्ष पुरानो आँटीघर ऐतिहासिक धरोहर हो । जसको नाम बाटै गाउँको नाम आँटीघर रहन गएको पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले बताए । सन १८१४ मा निर्माण भएको त्यसबेला सबैको एकतले माटो र ढुंगाले बनेको घर हुने भएपनि त्यसबेलाका अग्रज केसु गुरुङले तला थपेर घर बनाए । केसुले कालापानी युद्ध लडेर फर्केर आएपछि एकतले घरमा तला थपेको वडाध्यक्ष गुरुङको भनाई छ ।
तला थपेको घरलाई आँटी भनिने र पूरै गाउँमा एउटै मात्र आँटी भएको घर भएकाले सबैले आँटीघर भन्न थालियो । आँटीघर चर्चित भएपछि ओल्लोपल्लो गाउँकाहरुलेपनि त्यस गाउँलाई आँटीघर गाउँ भन्दाभन्दै गाउँको नाम नै आँटीघर गाउँ रहन गएको वडाध्यक्ष गुरुङले बताए ।
आँटीघरमा अहिले आँटीघर निर्माणकर्ता केसु गुरुङको छैटौं पुस्ता बस्दै आएको छ । हाल यमन गुरुङको परिवार पछिल्लो २ वर्षदेखि बसिरहेको छ । सो घरमा यमनको बुबा अमरबहादुर बस्ने गर्थे । अमरबहादुर पूर्व प्रधानपञ्च र मौजाका पूर्व गाविस अध्यक्ष थिए । द्वन्द्व कालमा अमरबहादुरलाई द्वन्द्वरत पक्षबाट दवाब आयो । त्यहि समयमा यमनको भाई बिते । छोरा पनि बितेको र द्वन्द्वरत पक्षबाट दवाब आएपछि २०५९ सालमा उनले आँटीघर मौजा छाड्ने निर्णय गरे ।
अमरबहादुरले मौजा छाडेर सहर झरेपछि आँटीघर खाली भयो । उनीसँगै अन्य धेरै सहर झरे । गाउँ निरस भयो । युवाहरु विदेश पलायन भए । जसका कारण आँटीघर गाउँ नै सुनसानजस्तो भयो ।
द्वन्द्व सकिएर देशमा गणतन्त्र आयो । सहर झरेकाहरु गाउँ फर्किए । बाँझो जमिनमा सिजन अनुसार खाद्य बाली लगाउन थालेपछि जमीन गुल्जार भयो । जसका कारण यमनको मन फर्कियो । उनीपनि जागिरबाट अवकास लिने अवस्थामा थिए । अन्ततः उनले आफ्नै घर र गाउँ रोजे र १६ वर्षपछि गाउँ फर्किने निर्णय गरे । घर फर्किने भएपछि यमनले दुई सय वर्ष अगाडिको जिर्ण घरलाई मर्मतसम्भार गरेर चिटिक्क पारे । उनी गाउँ फर्किएपछि घरमै होम–स्टे संचालन गरे । उनको सिको गरेर अन्यलेपनि होम–स्टे सञ्चालन गर्न थालेपछि अहिले यो गाउँ ‘आँटीघर मौजा होम–स्टे’ का रुपमा चर्चित छ ।
जन्म घरको मायाले आफू गाउँ फर्किएको यमनले बताए । आफ्नो जन्मस्थलको त माया भईहाल्छ नि !, उनले भने, ‘मसँगै छिमेकीहरुपनि घर फर्किएका छन्, गाउँपनि धेरै परिवर्तन भएको छ ।’ हिजो गाउँको घर जग्गा बेचेर सहर र विदेश पुगेकाहरु अहिले घर जग्गा मिलाई देउ न भन्दै फोन गर्ने गरेको यमनले बताए । घर चाहियो भन्दै देश÷विदेशबाट दिनहुँ फोन आउँछ,‘उनले भने,‘तर अहिले कसैलेपनि बेच्नै मान्दैनन् ।’ बरु अहिले पछिल्लो समय केसुकोजस्तै देखिने आँटीघर थप्ने होडबाजी चलेको छ । गाउँमा अहिले अधिकांशको आँटीघर छ ।
सरकारले एक सय पर्यटकीय गन्तव्यमा आँटीघर गाउँलाई राखेपछि अहिले यो गाउँ थप चर्चित भएको छ । जसका कारण पर्यटकहरु दिनहुँ आउने गरेको यमनले बताए । उनका अनुसार कोरोनाको महामारीका बिचमापनि आँटीघर गाउँमा आन्तरिक पर्यटक दैनिकजसो जाने गरेका छन् ।
पहिले आँटीघर जाने बाटो गोरेटोजस्तो थियो । पछि कच्ची सडकमा परिणत भयो । हुँदाहुँदै अहिले त महानगरको कनेक्टिङ लिंक रोडले जोडेको छ । सो सडकको काम अहिले धमाधम भइरहेको छ । बाटो सुगम भएसँगै आँटीघर गाउँ जान सहज भएको छ । हिजो पोखराबाट ३÷४ घण्टा लगाएर पुग्नुपर्ने ठाउँ अहिले ५०÷५५ मिनेटमै पुग्न सकिने भएको छ । यसलेपनि पर्यटक आगमनमा सघाएको यमनको बुझाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







