नाकाबन्दीले जन्माएको गण्डकी उर्जा : फोहोरबाट मोहर कमाउँदै


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित




समस्याले नै हो समाधान खोज्ने । अनि अभावले नै हो विकल्प रोज्ने । यो आहान ठ्याक्कै गण्डकी उर्जा कम्पनीसँग मेल खान्छ । नेपालमा २०७२ सालको भुकम्पले धेरै नेपालीलाई आहत बनायो । कयौंको ज्यान गयो, कयौंको घर ढल्यो । त्यही बिचमा छिमेकी देश भारतले आफूले भनेजस्तो संविधान नेपालले नबनाएको भन्दै नेपालमाथि अघोषित नाकाबन्दी लगायो ।

छिमेकी देश भारतले नाकाबन्दी लगाएपछि नेपालमा पेट्रोलियम पदार्थको हाहाकार मच्चियो । पेट्रोल र डिजेल त नभएपनि खासै केहि फरक परेन तर खाना पकाउने एलपी ग्याससमेत अभाव भएपछि धेरेको चुलो बाल्नै समस्या भो । चाहेरपनि ग्यास नपाउँदाको पीडा हरेक नेपालीले बुझेका छन् ।

ठीक त्यहिबेला पोखरेली कुशल गुरुङ वेलायतबाट वातावरण विज्ञान अध्ययन सकेर स्वदेश फर्किएका थिए । वेलायतबाट फर्किदा नेपालमा ब्यापक लोडसेढिङ थियो । आफ्नो विषयपनि यहि भएकाले यसलाई कसरी व्यवसायीकरण गर्ने भन्ने सोंचमा थिए उनी । त्यहीबीच भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपालीले लोडसेढिङ भन्दा बढी ग्यासको अभाव झेल्नु प¥यो । त्यहिबेला उनलाई के खोज्छस्…… के…..भनेजस्तो भयो । र उनी मोडिए वैकल्पिक उर्जाको क्षेत्रमा । र जन्मियो गण्डकी उर्जा कम्पनी प्रालि ।

गण्डकी उर्जा कम्पनी प्रालिले वायो ग्यास र प्राङ्गरिक मल उत्पादन गर्छ । कुहिने फोहोर तथा गाई, भैंसी, बंगुर, कुखुरालगायतका गोबर र सुलीलाई पेलेर ग्यास र त्यसबाट रहेको पदार्थबाट प्राङ्गरिक मल उत्पादन गर्ने गरेको गण्डकी उर्जा कम्पनी प्रालिका निर्देशक कुशल गुरुङले बताए । हामीले गोबर र कुहिने फोहोरबाट ग्यास उत्पादन गर्ने हो, उनले भने,‘ग्यास उत्पादन गरिसकेपछि रहेको पदार्थबाट प्राङ्गरिक मल उत्पादन गर्छौं ।’ उर्जाका लागि आवश्यक पर्ने गोबर तथा सुली र फोहोरहरु ठूलठूला गाई, भैंसी र बंगुर फार्म तथा पोल्ट्री फार्मबाट ल्याईने गुरुङले जानकारी दिए । त्यसका अलावा उखु पेलेर निकालिएको पदार्थ र वियर फ्याक्ट्रीको मर्चासमेत प्रयोग गर्नेगरेको उनले बताए ।

पोखरा महानगरबाट निस्कने फोहोरलाईसमेत सदूपयोग गर्न सकिने उनले बताए । तर महानगरको फोहोर कुहिने र नकुहिने नछुट्याई फालिने रहेछ, उनले भने,‘हामीले महानगरले छुट्याई देऊ हामी खरिद गरेर सदुपयोग गर्छौं भन्यौं, तर महानगरले हाम्रो कुरै सुनेन ।’

शुरुमा मल तथा फोहोर ल्याएर मिक्सिङ ट्याङ्कीमा हालिन्छ । त्यसपछि पानी र मलको मात्रा बराबर बनाएर पेलेर डाईजेस्टर ट्याङ्कमा पठाईन्छ । त्यहाँ किटाणुले मलबाट ग्यास उत्पादन गर्छ । त्यहाँबाट निस्केको ग्यासमा केवल ५०÷५५ प्रतिशत मात्र मिथेन ग्यास हुन्छ । त्यसैले त्यो बाल्न योग्य नभएकाले एलपी ग्यास जत्तिकै बनाउन प्रशोधन गरिन्छ । प्रशोधनपछि मिथेन ग्यासको मात्रा ९० प्रतिशत भन्दा बढी हुने भएकाले बल्ल बाल्न योग्य हुने गुरुङले जानकारी दिए । प्रशोधनका क्रममा कार्वनडाईअक्साईड, एचटुएच विषालु ग्यास, कार्वन मनोक्साईडलगायतलाई हटाईने उनले बताए । शुद्ध ग्यास भएपछि ग्यास फिलिङ (भर्ने) सेन्टरमा राखेर कम्प्रेसरमार्फत सिलिण्डरमा भरिन्छ ।

गण्डकी उर्जा कम्पनीले हाल ३५० केजी ग्यास र ५ टन प्राङ्गरिक मल उत्पादन गर्छ । अहिले यसले आफ्नो क्षमताको केवल एक चौथाई भन्दा पनि कम उत्पादन गरिरहेको छ । आफ्नो कम्पनीले दैनिक ४५ टन फोहोर पेलेर दैनिक १ हजार ६ सय केजी ग्यास र ५ टन मल उत्पादन गर्न सक्ने निर्देशक गुरुङले दाबी गरे । कोरोना कहर भन्दा पहिले ग्यासको खपत राम्रै भएपनि अहिले केवल दैनिक ३५० केजी मात्रै बिक्री हुने गरेको उनको भनाई छ । उत्पादित ग्यास होटल रेष्टुरेण्ट, उद्योग, क्यान्टिन, हस्पिटललगायतमा सप्लाई हुने उनले बताए । सिलिण्डर केहि महङ्गो हुने भएकाले दैनिक रुपमा कम्तिमा एउटा सिलिण्डर खपत हुने ठाउँमा मात्र ग्यास बेच्ने गरिएको उनले स्पष्ट पारे ।

कम्पनीले ११ केजी, १० केजी र ५ केजीको ३ प्रकारका सिलिण्डर ग्यास बजारमा पठाउने गरेको छ । गण्डकी उर्जा वायो सिएनजी नामक व्राण्डमा बजारमा जाने ग्यासको मूल्य भ्याटबाहेक प्रतिकेजी ९० रुपैयाँ तय गरिएको गुरुङले जानकारी दिए । उनले ग्यासको मूल्य एलपी ग्यास सो सरह भएपनि आफूहरुको ग्यास एलपी ग्यासको तुलनामा करीब एक चौथाई बढी टिक्ने दाबी गरे ।

त्यस्तै मल भने ३ केजी र ५ केजीको प्याकेजिङ गर्ने गरिएको छ । जसको मूल्य प्रतिकेजी ५० रुपैयाँ कायम गरिएको उनले बताए ।

२५ करोड लागतमा स्थापित गण्डकी उर्जा कम्पनी प्रालिलाई सरकारले ५ करोड अनुदान दिइसकेको छ । ५ करोड भने वैंकमा ऋण रहेको निर्देशक गुरुङले बताए । व्यापार घटेकाले वैंकको किस्ता तिर्न अहिले कठीनाई भएको उनले सुनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।