अल्ट्रा धावक कार्की यसपटक पनि जनकपुरसम्म दौडदैछन्, सहयोगको चिन्ता


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७७ मा प्रकाशित




लामो दुरीका अल्ट्रा धावक धावक रामसुन्दर कार्कीले यस बर्ष पनि ललितपुरबाट दौडेर जनकपुर पुग्ने भएका छन्।

२०६४ सालमा १ सय १ दिन लगाएर देशको ७५ जिल्लामा दौडेर छिचोलेका रामसुन्दरले यस बर्ष पुष १ गते ललितपुरबाट दौड सुरु गरेर पुष ३ गते जनकपुर पुग्ने योजना बनाएका छन् ।

विवाह पञ्चमीको अवसरमा गत बर्षदेखि जनकपुर दौडेर जान थालेका धावक कार्कीले गत बर्ष जनकपुरवासीको तर्फबाट न्यायो स्वागत पाएको बताए। यस बर्ष विवाह पञ्चमी पुष ४ गते परेको छ।

हरेक दिन विहान ३ बजेदेखि दौडन सुरु गर्ने कार्की यसपटक दौडनका लागि सहयोगको खोजीमा छन्। गत बर्ष धेरै संस्थाले सहयोग गरेपनि यसपटक कोरोनाको कारण पनि सहयोग नजुटेकोमा चिन्तित छन्।

दौडेर जनकपुरसम्म पुग्दा र आफूलाई स्कटिङ गर्ने टोलीका लागि खर्च धेरै लाग्ने गरेको उनको भनाई छ। देशको नाम राख्न आफूले दौडने गरेको कार्कीले बताउँछन्। अल्ट्रा धावक रुपमा परिचित कार्कीले देश र देश बाहिर आयोजना भएका १०० किलोमिटर दौड, हाफ म्याराथन , सगरमाथा म्याराथनलगायतमा सहभागी भएर धेरै पदक जितिसकेका छन्।

दौडका लागि आवश्यक खर्च जुटाउन आफ्नो गाउँ ललितपुरको गोदावरीमा सानो चिया पसल चलाउँदै आएका धावक कार्की अन्य धेरै ठाउँमा पनि दौडेर पुग्ने योजना बनाएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।