पोखरा । कलाकार, पत्रकार तथा नियात्राकार तिलकप्रसाद पुन पुर्जाको नयाँ पुस्तक साइनो एक कार्यक्रमका वीच पोखरामा विमोचन गरिएको छ । प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक तथा योजना मन्त्री किरण गुरुङले पुस्तकको विमोचन गरेका हुन् ।कार्यक्रमका प्रमूख अतिथि मन्त्री गुरुङले पुस्तकका लेखक पुनलाई लामो समय अगाडिदेखि चित्रकारका रुपमा चिनेको स्मरण गर्दै पत्रकार र नियात्रकारका रुपमा पनि परिचित हुन पाएको बताए । लेखकले धेरै कुरामा चासो राखेर भ्रमण गर्दै पुस्तकमा नियात्रको वर्णन गर्न सफल भएको पनि उनको भनाइ छ । धेरै ठाँउमा घुमेर अध्ययन गरेर धेरै मेहनत गरेर आफूले जानेका कुरा अरुलाई पनि जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन हुनु ठूलो योगदान भएको पनि उनले सो अवसरमा बताए ।
सो अवसरमा विशिष्ठ अतिथि आयोजक संस्थाका केन्दीय संगठन विभाग प्रमूख उत्तम कँडेलले प्रकृति र पर्यावरणका क्षेत्रमा नियात्रकार पुनले रुचि राख्दै सर्वसारधणलाई जागरुक बनाउनु महत्वपूर्ण भएको जानकारी दिए । कँडेलका अनुसार वर्तमानमा विकास र निर्माणलाई सभ्यताको केन्द्र ठान्ने परिपाटी रहेका कारण विश्वव्यापीरुपमा जीवनमा संकट पैदा हुन पुगेको पनि बताए ।
पृथ्वी नारायण क्याम्पसरका नेपाली विभाग प्रमूख प्रा डा कुुसुमाकर न्यौपानेले नियात्राकार पुन प्रकृतिपे्रमी लेखक भएको उल्लेख गर्दै नेपालका विभिन्न स्थानहरुको मनमोहक चित्रण साइनो पुस्तकमा पाइने भनाइ राखेका थिए । संस्कृति भने पछि सम्मोहित हुने लेखक पुनले तयार पारेको यात्रा संस्मरण पुस्तकको अध्ययनबाट नेपाली समाजमा प्रचलनमा रहेका पशुपंक्षी पालन, होटल तथा होमस्टे लगायतका व्यवसायमूलक संस्कृतिसँग परिचित हुन सकिने उनको धारणा छ ।
पुस्तकमाथि परिचर्चा गर्दै डा जगन्नाथ रेग्मीले कला साहित्यको सेवामा निरन्तर क्रियाशील नियात्राकारले होमस्टे क्षेत्रका विभिन्न वृत्तान्त प्रस्तुत गरेको बताए । पत्रकार अनुप प्रकाश पौडेलले कृतिकारको व्यक्तित्वका विभिन्न आयाम बारे परिचय दिएका थिए ।
सो अवसरमा पुस्तकका लेखक तिलकप्रसाद पुन पुर्जा, नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद तिमल्सेना, नेपाल अर्वुद्द रोग निवारण संस्था कास्की अध्यक्ष रामचन्द्र थापा, नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुनमगरले पनि बोलेका थिए । आयोजक प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटका उपाध्यक्ष शिवप्रसाद वस्ताकोटी शिवदाइको सभापतित्वमा सम्पन्न कार्यक्रम संचारकर्मी लक्ष्मी थापाले संचालन गरेकी थिइन् ।
नियात्रकार पुनको यसअघि लोकसंस्कृतिका सुसेलीहरु र वस्तीभित्र पुस्तक प्रकाशित छन् । पोखरामा लामो समयदेखि कलाकारितामा सक्रिय पुनले पत्रकारिताका क्षेत्रमाा पनि उत्तिकै योगदान दिएका छन् । शुक्रबार विमोचित साइनो पुस्तकमा यात्रामुलक सैतींसवटा लेखरचना संग्रहित छन् । नेपालका विभिन्न गाँउवस्तीहरु भ्रमण गरी ती लेखहरु तयार पारिएका छन् । ती लेखमा भ्रमण गरेका वस्तीका प्रकृति, लोकसंस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व सहित विभिन्न पक्षको चर्चा गरिएका छन् । पुस्तकले देश र भूगोलको वीचमा साइनो लगाउन अभिप्रेरित गर्दै लोकसंस्कृति तथा पर्यटनको प्रर्वद्दनमा पनि महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







