न्याय नमरोस्, भूमिहीनले भूमि पाओस् : मन्त्री अर्याल


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




भूमि ब्यबस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगलाई असार सम्ममा काम सक्न निर्देशन दिएकी छन् । पोखरामा शनिबार आयोजित ‘भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानिय तहका पदाधिकारीबीच हुने समझदारी पत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्,‘तपाईंहरुको कार्य अवधी असारसम्म मात्र हो, यो सोह्रौं आयोग हो, अब सत्रौं आयोग बन्दैन, यहि आयोगले यो समस्याको समाधान गर्नुपर्छ । त्यतिञ्जेलसम्म कार्ययोजना बनाएर काम सक्नुस् ।’

मन्त्री अर्यालले आयोगलाई कुनैपनि कुराको अपुग हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । उनले अगाडि थपिन्,‘पैसाको खाँचो हुन दिदैनौं । तर काम ईमान्दारपूर्वक गर्नुस् ।’ पहिचान गर्ने र सत्यापन गर्ने त्यसमा पक्षपात नहोस् । बहुदल प्राप्तिको आन्दोलनरत पक्षको सम्झौता, बृहत शान्ति सम्झौता, राजनीतिक पार्टीका घोषणा पत्र र चुनावी दौरानमा गरिएका प्रतिबद्धता र स्वयम् भूमिहिनहरुको आन्दोलनको परिणाम दिने बेला आएको बताईन् । तर यसो भन्दैमा कार्यकर्ता पोस्ने काम मात्र नहोस्,‘उनले भनिन्,‘ सरकार न्यायको आधारमा भूमिहिनलाई भूमि दिनुपर्नेमा दृढ छ, त्यसैले खास भूमिहिनको पहिचान गरियोस्, न्याय नमरोस्, पीडित पक्ष जुन हो त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु होला, तलमाथि नगर्नुहोला ।’

मन्त्री अर्यालले सुकुम्बासी समस्या सम्बोधन गर्नका सरकार अब भुगोलमा आईसकेको बताईन ् । इतिहासमा सुकुम्बासी समस्या समाधान गर्न पहिलोपटक कानूनी हिसाबले सम्बोधन गरिएको बताउँदै उनले भनिन्,‘कानून निर्माण गरेर हाम्रा नीतिगत, सांगठनिक काम सकेर अब भुगोलमा आयौं ।’

मन्त्री अर्यालले भूमि सुधार भनेको सुकुम्बासीलाई जग्गा वितरण गर्ने मात्रै नभएको पनि बताईन् । भूमि ब्यबस्थापन गर्नेपनि आयोगकको काम भएको बताउँदै उनले भनिन्,‘भूमिको वैज्ञानिक ब्यबस्थापन गर्ने, भुुउपयोगको कानुन निर्माण गरेर नया जमिनको वर्गिकरण गर्ने, र प्राकृतिक श्रोतको अधिकतम प्रयोग गरेर उत्पादकत्व बृद्धि गर्दै समृद्धिको कार्यक्रमहरु सञ्चालन गर्नेपनि हो । उनले भूमि श्रोतको अधिकतम प्रयोग गर्ने कुरालाई सरकारले अधिकतम जोड दिएको उल्लेख गरिन् । भुमि व्यवस्थापन वैज्ञानिक रुपमा हुने बताउँदै उनले त्यसका लागि सहकारीका मोडलमा जाने, भूमि बैंक स्थापना गर्ने र बाँझो जमिन राख्न नपाउने ब्यबस्था गरिने बताईन् । भूमि ऐन र भुउपयोग ऐनमार्फत भूमिको ब्यबस्थापन गरिने उनको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका ३८ वटा स्थानिय तहले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग भूमि सम्बन्धी समस्या समाधान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे । भूमिहिनको समस्या बढी भएका स्थानिय तहसँग समझदारी गरिएको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार देशभरका १८७ वटा स्थानिय तहसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने लक्ष्य अनुरुप हालसम्म प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशसँग गरेर १ सय वटा स्थानिय तहसँग सम्झौता भइसकेको बताए । उनका अनुसार अब ५ नम्बर प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशसँगपनि पुस २ गतेसम्ममा सम्झौता पत्रमा हस्ताक्षर गरिसक्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।