सडक महोत्सव यहि पुस १५, १६ र १७ हुने


     एभरेस्ट आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित




पर्यटकीय नगरी पोखराको लेकसाईडमा हरेक वर्ष अंग्रेजी वर्ष शुभारम्भको अवसरमा आयोजना गर्ने सडक महोत्सव यस वर्षपनि हुने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का बाबजुद रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सडक महोत्सवको २२ औं संस्करणको मिति घोषणा गरेको हो ।

रेबानले बुधबार पोखरामा पत्रकार भेटघाट गरि महोत्सव यहि पुस १५, १६ र १७ गते आयोजना गर्ने जानकारी दिएको छ । तर महोत्सवको अवधी भने यसअघी भन्दा घटेको छ । यसअघी ५ दिने सडक महोत्सव आयोजना गर्दै आएको रेबानले यस वर्ष २ दिन घटाएर ३ दिनमा झरेको छ । कोभिड त्रासका कारण महोत्सव तीन दिनमा खुम्च्याइएको आयोजक रेबानका अध्यक्ष लक्ष्मण बरालले स्पष्ट पारे ।

आयोजक रेबानले स्वास्थ्य सतर्कता अप्नाउँदै महोत्सव आयोजना गर्ने जनाएको छ । सुस्ताएको पर्यटन उकास्नका लागि महोत्सवलाई निरन्तरता दिने निर्णय गरिएको रेबान पोखराका अध्यक्ष बरालले बताए । स्वास्थ्यप्रति हामीपनि सचते छौं,‘उनले भने,‘सुस्ताएको पर्यटन उकास्ने प्रयास हो यो, सबैले यही रुपमा बुझेर महोत्सवमा आउनेमा हामी विश्वस्त छौं ।’ उनका अनुसार यस वर्ष महोत्सवका कार्यक्रम र दैनिक गतिविधि कटौती गरिनेछ ।

महोत्सवमा यस वर्ष सांगीतिक कार्यक्रम नहुने रेबानले जनाएको छ । रेबानले उद्घाटन र समापन बाहेक अन्य कार्यक्रम कोमागाने पार्कमा नगर्नेपनि बताएको छ । महोत्सव संयोजक वसन्त गौतमले भने,‘महोत्सवमा यस वर्ष दोहोरी तथा पप कन्सर्ट केहिपनि हुँदैन ।’ तर महोत्सव अवधीको २ दिन अपराह्न ३ बजेदेखि राती १० बजेसम्म तथा न्यू ईयर ईभको दिन अपराह्न ३ बजेदेखि राती १२ बजेसम्म सडकमै बाजागाजा तथा झाँकी प्रस्तुत गरिने उनले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सव गरेर आफूहरुले पोखरा खुल्ला छ है भन्ने सन्देश दिन खोजेको बताए । ‘यसको मतलव हामी सेवा दिन तयार छौं है भन्ने सन्देश पनि हो’–उनले भने । उनले परिषदसहित हान, रेबानदेखि भिटोफसम्म सबै पर्यटन प्रवद्र्धनमा लागिरहेको र सेवा दिन आतुर रहेको बताए । उनले पर्यटकीय गन्तव्यहरु जस्तै, मन्दिर, स्तुपादेखि पर्यटकीय ठाउँहरु खुलाउन थालिएकाले पर्यटक आउने अपेक्षा गरिएको उनले बताए । ‘पर्यटकलाई पोखरा घुम्न बोलाउने, तर, उनीहरुलाई घुम्ने ठाँउ नदिने हो भने पर्यटन प्रवद्र्धन हुँदैन,’ उनले भने, ‘अहिले ताला लागेका गन्तव्य पनि अब खुल्छन । पोखरा आउँदा घुम्न पाइदैन की भन्ने चिन्ता अब लिनुपर्दैन ।’

महोत्सव अवधीमा सांगीतिक कार्यक्रम नगर्ने रेबानले खेलकुदका गतिविधि भने गर्ने भएको छ । रेबानले यस पटक महोत्सवको अवसरमा बिच भलिबल, टेनिस प्रतियोगिता, डुंगा दौड र आर्चरी प्रतियोगितालगायतका खेल गतिविधि आयोजना गर्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।