बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारणलाइन


     एभरेस्ट आवाज    
     पौष २ गते २०७७ मा प्रकाशित




बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रशारण लाइनबाट बत्ती बालिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिनुभयो । जिल्लाको अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हाइटेन्सनलाइन विस्तार गरी विद्युत् प्रवाह गरिएको उहाँले बताउनुभयो । “बालुवाबाट बारपाकसम्म करिब १० किलोमिटर लाइन विस्तार गरी विद्युत् लाइन जडान गरिएको हो”, प्रमुख न्यौपानले भन्नुभयो, “११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म पु¥याएका हौँ ।

उहाँले बालुवादेखि बारपाकसम्म विद्युत् विस्तारका लागि ग्रामीण विद्युतीकरण तर्फको रु तीन करोड खर्च भएको बताउनुभयो । “सोमबार ट्रान्सफर्मर जडान गरी विद्युत् पु¥याइएको छ”, प्रमुख न्यौपानेले भन्नुभयो, “अहिले धमाधम ग्राहकलाई मिटर वितरण गर्दै घरघरमा बत्ती जोड्ने काम भइरहेको छ ।” मिटर जडानका लागि घरधनीले वडा कार्यालयमा आएर फारम भर्नुपर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । पहिलो चरणमा बारपाकका ५०० घरघुरीमा बत्ती बाल्ने योजनामा प्राधिकरण रहेको प्रमुख न्यौपानले जानकारी दिनुभयो ।

उहाँले प्राधिकरणले विपन्न परिवारलाई भने निःशुल्क मिटर उपलब्ध गराउने बताउनुभयो । गत चैतभित्र बारपाकमा विद्युत् पु¥याउने योजना प्राधिकरण थियो । प्रमुख न्यौपानका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि बन्दाबन्दीले काम गर्न केही असहज भएकाले ढिलाइ भएको हो । लाइन विस्तारका लागि बालुवादेखि बारपाकसम्म मुख्य लाइनमा २५५ वटा र शाखा लाइनमा ५९० वटा फलामे पोल गाडिएको छ । बारपाकसम्म लाइन विस्तारका लागि लाङ्गाली सप्लायर्स एण्ड निर्माण सेवा धादिङसँग २०७५ सालमा सम्झौता भएको थियोे । यता गाउँमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि स्थानीयवासी खुशी भएका छन् । “लद्युजलविद्युत् आयोजनाबाट बत्ती बाल्दा भोल्टेज नपुग्ने, कुटानी पिसानीलगायत समस्या थियो”, स्थानीयवासी कोपिला घलेले भन्नुभयो, “अब ती समस्या हामीले भोग्नुपर्दैन भन्ने लागेको छ । –– (रासस) 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।