एभरेस्ट आवाज    
     पौष ४ गते २०७७ मा प्रकाशित




प्रादेशिक शाखा खोल्ने तयारीमा राष्ट्रिय खाद्र । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रादेशिक शाखा खोल्ने तयारी शुरु गरेको छ ।

जसका लागि बैंकका पदाधिकारीहरुले देश दौडाहा शुरु गरेका छन् । उत्पादन, भण्डारण र बजारीकरण सबै आफैले गर्ने उद्धेश्यले करीब ७ महिना अघी स्थापना भएको राष्ट्रिय खाद्य बैंकले प्रदेश स्तरियमा प्रादेशिक शाखा खोल्ने तयारी गरेको हो । शाखा खोल्ने तयारी स्वरुप अहिले प्रदेश राजधानीहरुमा परिचयात्मक अन्र्तक्रिया र छलफल चलाईरहेको बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले जानकारी दिए ।

प्रादेशिक रुपमा शाखा खोल्ने तयारी अन्तर्गत लगानीकर्ताहरुसँग परिचयात्मक छलफलसँगै कार्यालय व्यवस्थापनको काम अघि बढेको कार्यकारी अध्यक्ष उप्रेतीले बताए । उनका अनुसार वागमती प्रदेशमा छलफल सकिएको छ भने गण्डकी प्रदेशको पोखरामा शनिबार परिचयात्मक छलफल कार्यक्रम गरिएको छ ।

गण्डकी प्रदेशपछि मंगलबार ५ नम्बर प्रदेशमा गर्ने र अन्य प्रदेशमा क्रमश : जाने योजना रहेको उनले सुनाए । प्रादेशिक कार्यालय खुलेलगत्तै जिल्ला जिल्लामापनि कार्यालय खोल्ने तयारी थाल्ने उनले बताए । शुरुमा प्रादेशिक शाखा कार्यालय खोल्छौं,उनले भने,‘त्यसपछि ७७ जिल्लामै जिल्ला शाखा कार्यालय खोल्छौं, त्यसपछि भने आवश्यक्ता अनुसार पालिका स्तरमापनि शाखा खोल्ने प्रयास गर्छौं ।’

२ अर्ब कुल पुँजी रहेको खाद्य बैंकले विशेष गरेर उत्पादन, भण्डारण र विक्री वितरणको काम गर्ने जनाइएको छ । कृषि क्रान्ति गर्ने उद्धेश्यले खाद्य बैंक खोलिएको हो,‘कार्यकारी अध्यक्ष उप्रेतीले भने,‘सकभर अर्गानिक उत्पादन गर्ने हो, नभएपनि शुरुमा खान योग्य खाद्यान्न उत्पादन गर्छौं, त्यसलाई बिस्तारै अर्गानिक बनाउँदै लगेर पछि पूर्ण अर्गानिक बनाउने प्रयास गर्छौं ।’ आफूले उत्पादन गरेको खाद्यवस्तु अर्कालाई नबेच्ने नीति लिएको यस बैंकले उपभोक्ताको घर-घर अर्थात होम डेलिभरीकोसमेत व्यवस्था गर्ने उनको भनाई छ ।

बैंकले जग्गा लिजमा लिएर बैंकका सदस्य किसानलाई उत्पादनका लागि जग्गा प्रदान गर्नेछ भने बैंकले बिउ, मल, प्रविधि र प्राविधिकसमेत प्रदान गर्नेछ । अन्त्यमा उत्पादित वस्तुसमेत खरिद गरेर बजारको ज्ञारेन्टी गर्ने कार्यकारी अध्यक्ष उप्रेतीले स्पष्ट पारे । बैंकले धान, मकै, गहुँ, फापर, तोरी, जौंलगायतका स्थानिय जातका खाद्यान्न बाली लगाउने उनले बताए । हामी जग्गा खरिद गरेर अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं,उनले अगाडि थपे,‘लिजमा जग्गा लिने हो, त्यसमा स्थानिय जातका खाद्यान्न बाली लगाएर स्थानिय जातको बाली संरक्षण गर्दै उत्पादन बृद्धिसँगै कृषकको आयस्तरमासमेत बृद्धि गर्छौं ।’

खाद्य बैंकले अर्गानिक खानेकुरा उत्पादन गर्ने, रोजगारी सृजना गर्ने, खाद्य र पोषणका बारेमा सर्वसाधारणलाई सचेत गराउने, कृषि पेशालाई सम्मानित बनाउने, वातावरण संरक्षणसँगै जैविक विविधताको संरक्षण गर्ने, देशको कुल गाह्र्यस्थ उत्पादनमा योगदान पु¥याउने, परनिर्भरतालाई घटाउँदै आत्मनिर्भर बन्न प्रेरित गर्ने र किसानलाई धनी बनाएर कृषि क्रान्तिको यात्रामा अगाडि बढ्ने उद्धेश्य राखेको कार्यकारी अध्यक्ष उप्रेतीले जानकारी दिए ।

बैंकमा हाल १५० जना सेयर सदस्य रहेको र यसलाई बढाएर १ हजार सेयर सदस्य पु¥याउने भन्दै यसका लागि केहि समयपछि सेयर निस्कासन गरिने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।