काठमाडौँको बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा पूजा एवं दर्शन गर्दै भक्तजन । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङक्रमण बढन थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ। तस्बिरःरोशन सापकोटा-रासस
बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर खुला गरिएको घोषणा गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य निरौलाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिर क्षेत्रको विश्वका वैदिक सनातन धर्मावलम्बीकाबीच प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो । नगर प्रमुख खरेलले विसं २०४० मै अधिग्रहण भएको मन्दिर क्षेत्रको जग्गालाई मठ मातहत ल्याई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हिसाबले संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अधिग्रहण भइसकेको जग्गा छाडिदिन पनि उहाँले सरोकार भएकालाई आग्रह गर्नुभयो । कोरोना महामारीका कारण नौ महिनासम्म बन्द मन्दिर भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले बताउनुभयो । मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती भने नियमित भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगन गरिएको थियो ।
बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहनुभएकाले विश्वमै मन्दिरको महत्वपूर्ण स्थान रहेको महन्त निगमानन्दको भनाइ थियो । ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । मन्दिर खुला गरिएपछि भक्तजन दर्शनका लागि आउन थालेका छन् । यसले गर्दा सुनसान रहेको मन्दिर क्षेत्रमा चहलपहल बढेको छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको…






