‘राष्ट्रपति ज्यू तपाई संविधानको रक्षक कि केपी ओलीको ?’


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




पोखरा । विवेकशिल साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आईतबार पोखरामा धर्ना दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपतिले असंवैधानिक रुपमा संघीय संसद विघटन गरेको विरोधमा विवेकशिल साझा पार्टी गण्डकी प्रदेशले आईतबार दिउँसो पोखराको महेन्द्रपुलमा एक घण्टा शान्तिपूर्ण धर्ना दिदै राष्ट्रपतिको राजिनामा मागेको हो ।

केपी ओली नेतृत्वको सरकारले संविधानले कल्पना नै नगरेको संसद विघटन गरेर निर्वाचन घोषण गर्नु बेमौसमी बाजा भएको विवेकशिल साझा पार्टी निकट यूवा संगठनका केन्द्रिय सदस्य सरोज गौतमले बताए । उनले कयौं वर्ष लडेर ल्याएको लोकतन्त्रको घाँटी निमोठ्ने काम प्रधानमन्त्रीले गरेको आरोपसमेत लगाए । सरकारले अपर्झट गरेको असंवैधानिक ‘कु’ का विरुद्ध आवाज उठाउने समेत उनले बताए ।
आइतबार दिउँसो महेन्द्रपुलमा जम्मा भएका विवेकशिल साझा पार्टीका नेता कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै, प्रधानमन्त्री विरुद्ध नारावाजी समेत गरेका थिए ।

प्रर्दशनमा सहभागीहरुले ‘लोकतन्त्रको रक्षा गर’, ‘प्रधानमन्त्री ज्यू तपाईको घमण्डले देश डुब्नै लाग्यो’, ‘राष्ट्रपति ज्यू तपाई संविधानको रक्षक कि केपी ओलीको’, ‘विधिको शासन स्थापित गर’, ‘के कदर भयो र जनमतको, प्रधानमन्त्रीलाई माया रहेछ सिर्फ पदको’ लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।