वि.सं. २००७ को जनक्रान्तिपछि उद्योगी/व्यवसायी/व्यापारीहरुको हकहितको निमित्त नेपालको सुन्दर नगर पोखरामा वि.सं.२०११ माघ महिनामा स्थापित पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रको सबैभन्दा जेठो सामाजिक संस्था हो । उद्यमी, व्यवसायीको हकहितको पक्षपोषणका अतिरिक्त यस संघले अग्रदस्तामा उभिएर पोखरास्थित बालमन्दिर, पृथ्वीनारायण क्याम्पसको स्थापना, पोखरा विश्वविद्यालयको स्थापनालगायत अन्य समाजोपयोगी उल्लेख्य कामहरु गरेको छ । यस मानेमा उद्यमी, व्यवसायीहरुका अतिरिक्त अन्य सर्वसाधरणको पनि भलाईको पक्षपोषण गर्ने गरिमामय संस्था हो यो संघ । यस गौरवशाली संस्थाको पहिलो अध्यक्ष स्व. श्री अमृतप्रसाद शेरचन हुनुहुन्थ्यो र वर्तमान अध्यक्षको दुई अवधिबीच यस संस्थाले २३ जना महानुभावहरुलाई अध्यक्षको रुपमा बेहोरी सकेको छ । दूर्भाग्य भनौं वा नितान्त संयोग मानौं महिला सशक्तिकरणको सूचकांकमा त्यति धेरै पछि नमानिने पोखरामा हालसम्म पनि यस संघको अध्यक्षता गर्ने मौका महिलाले प्राप्त गरेका छैनन् । उद्योग, व्यवसाय र व्यापारमा क्रियाशिल स्वाभिमानी महिला र समावेशिताका पक्षधरहरुलाई जहिले पनि बिझाउने अहम् विषय भनेकै यही हो ।
आर्थिक विकासमा संबन्धमा चासो राख्ने र अध्ययन गर्ने राष्ट्रिय÷अन्तराष्ट्रिय संघसंस्थाले कोभिड—१९ को दूष्परिणाम स्वरुप पर्यटन व्यवसायमा परेको नकारात्मक प्रभावको परिणाम स्वरुप नेपालको आर्थिक वृद्धिमा सङकुचन आउने प्रक्षेपण गरेका छन् । विप्रेषण आय (रेमिटेन्स) मा आउने गिरावटले उपभोग्य वस्तुको समग्र मागमा उल्लेख्य कमी आउने अनुमान गरेका छन् । कोभिड–१९ लगायत सार्वजनिक सेवा प्रवाहको शृङ्खला अवरुद्ध बनाउने कामले रोजगारी सिर्जना र आय आर्जनमा ठूलो मार परेको छ । शिक्षा क्षेत्र अझ विशेष गरेर निजी स्रोतद्वारा संस्थापित र सञ्चालित नराम्रोसँग थला परेको छ । घस्रे पनि स्वास्थ्य क्षेत्र तङ्ग्रिएर फटाफट हिड्न सकेको छैन । कुल रोजगारीको ५० प्रतिशत स्थान ओगट्ने अनौपचारिक क्षेत्र र आर्थिक समृद्धिका बाहक उद्योग, व्यवसाय क्षेत्रको बन्दाबन्दीले क्रमशः डरलाग्दो आर्थिक मन्दीलाई आमन्त्रण गरिरहेछ । मन्दी उद्यमी र व्यवसायीहरुको निमित्त ठूलो अभिशाप हो । अर्थशाास्त्रले व्याख्या र विश्लेषण गर्ने गरेझैं यो घट्दो लगानी वा घट्दो निर्यातले निम्त्याएको दूर्भाग्य नभई अनपेक्षितरुपमा प्रकृतिले हामीमाथि एकाएक थोपरिदिएको छुट्टै प्रकारको कहर हो । भिन्न र नयाँ प्रकारको समस्यालाई परम्परागत सोंच र शैलीले समाधान गर्न सम्भव हुँदैन । सरकारले निजीक्षेत्रलाई अर्थतन्त्रको इञ्जिन भनेर फुर्क्याए पनि सोही अनुसार गम्भीर र जिम्मेवार भएर हाम्रो समस्या समाधान गर्ने नगरेको इतिहास र प्रमाण हाम्रो सामु बग्रेल्ती छन् ।
यिनै पृष्ठभूमिमा कोभिड—१९ ले थिलथिलो बनाएको आर्थिक÷औद्योगिक÷व्यापारिक तथा व्यावसायिक क्षेत्रका आधारभूत समस्याहरुको सहीसही ढङ्गले पहिचान गरी सोको समाधानको अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका उपायहरु पहिल्याई कार्यान्वयनमा ल्याउनु ÷ल्याउन लगाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण कार्यभार हो । उद्योग, व्यवसायको स्थायित्वको लागि उत्पादित वस्तु तथा सेवा उपभोक्ताहरुबाट माग हुनु अनिवार्य हुन्छ । पर्याप्त रोजगारीको अवसर र आय आर्जनमा अभिवृद्धि नभई उपभोक्ताहरुको क्रयशक्ति नबढ्ने भएको हुँदा के-कसरी समग्र मागमा बढोत्तरी गर्न सकिन्छ भन्ने विषयमा पनि उद्योग\वाणिज्य संघ गम्भीरतापूर्वक घोत्लिनु पर्ने अवस्था छ ।
अन्य उद्योग, व्यवसायको आ–आफ्नो स्थानमा अहं महत्व भएपनि पोखराको विशेषता र महत्ता भनेको प्राकृतिक सौन्दर्य लगायत साहसिक÷मनोरञ्जनात्मक÷धार्मिक पर्यटन नै हो । नेपालको सन्दर्भमा कोभिड—१९ ले ज्यादै नराम्रोसँग थला पारेको क्षेत्र यो नै हो । यसर्थमा नव सोंच÷दृष्टिकोण र सुरक्षाका प्रभावकारी उपायका साथ कोमामा पुगेको पर्यटन क्षेत्रलाई ब्यूँताएर लयमा फर्काउने सम्बन्धमा सबभन्दा बढी ध्यान दिनु पोखरा उद्योग वाणिज्य संघको महत्वपूर्ण कार्यभार हो ।
कोभिड—१९ ले भीडभाडयुक्त ठूलो उद्योग, व्यवसायभन्दा पनि सुरक्षित स्थानमा रहेर प्रविधिको सहायताले थोरै जनशक्तिले गुणस्तरीय वस्तु÷सेवा उत्पादन गर्नुपर्नेतर्फ सोंच्नु पर्ने भएको छ । विगतको अत्यास लाग्दो अवस्थामा केही सुधार आए पनि हाम्रो समाजमा पुरुष एकैछिन् पनि घरमा टिक्न नसक्ने र महिला घरभित्रै थन्केर रहनु पर्ने अवस्थामा खासै सुधार आउन सकेको छैन । यिनै सन्दर्भमा घरमै शान्तसँग बस्ने महिलाहरुलाई आवश्यक सीप सिकाएर, उद्यमशीलता सम्बन्धमा उत्प्रेरणा दिएर, संसारमा सफल महिलाहरुको बारेमा जानकारी दिएर र आवश्यक परे न्यून व्याजमा ऋण उपलब्ध गराएर उनीहरुलाई आय आर्जन र रोजगारी सिर्जनातर्फ अभिप्रेरित गर्नु पनि अहिलेको समयको माग हो । यसर्थ, उद्योग, व्यवसायको क्षेत्रमा महिलालाई निजी सहायक, सञ्चार सहयोगी वा विज्ञापनको साधनभन्दा माथि उठाई उनलाई साँचो अर्थमा उद्यमी/व्यवसायी बन्न अभिप्रेरित गर्नुपर्छ ।
पोखरा गण्डकी प्रदेशमा अवस्थित सुन्दर नगरी हो । प्रदेश पुँजी/सीप/प्रविधि/सोंच/दृष्टिकोण/लगनशील, इमान्दार र मिहिनेती प्रतिभाशाली मानवीयपुँजीको आदर्श परिचालन नगरी प्रदेशको समृद्धिको सपना अधुरै रहनेछ । समृद्धि पोखरा उद्योग वाणिज्य संघको पनि अभीष्ट भएकोले प्रदेश लगायत स्थानीय सरकारसँग अजेण्डासहित नियमित अन्तक्र्रिया, सम्पर्क र समन्वय गर्ने उपयुक्त स्थायी संयन्त्र निर्माण गरी उनीहरुलाई राजनीतिकका अतिरिक्त उद्योग/व्यवसाय÷व्यापारलाई आफ्नो महत्वपूर्ण कार्यसूची बनाउन आग्रह गर्दै आपसी सहकार्यको संस्कृति पनि हुर्काउन सक्नु पर्छ ।
उपर्युक्त तथ्यलाई साँचो अर्थमा व्यवहारमा कार्यान्वयन गरी पोखरा उद्योग वाणिज्य संघलाई बदलिदो समयानुसार नव ढङ्गले अघि बढाई यसको गरिमा उच्चो बनाउने अभिप्रायले मैले यो पटक अध्यक्ष पदमा उमेदवारी दिने धृष्टता गरेकी हूँ । मेरो उमेदवारी पोखराको धर्ति टेकेर आधा आकाश ढाकेका महिलाहरुको सम्मान र पहिचानको लागि पनि हो । आफूले लामो समय विभिन्न पदमा रहेर हाँसिल गरेका ज्ञान, सीप, अनुभवलाई आफ्नै नेतृत्वमा यस गरिमामय संघको उन्नयनको लागि अपर्ण गरौं भन्ने अभिलाषा पनि हो । महिला नेतृत्व अहिलेको समयको अपरिहार्य आवश्यकता हो । यसका लागि आफू योग्य भएका आत्मविश्वास भए पनि आफू नै निर्विकल्प भन्ने अहं र भ्रममा म छैन । कोही योग्य महिलापात्र अगाडि सर्नु भयो म सगर्व उहाँको निमित्त मैदान खाली गर्न सदा तयार छु । बस, मेरो चाहना उप वा सहायकको तहबाट महिलालाई उठाएर निर्णायक र कार्यकारिणी तहमा तिनलाई विराजमान गराऔं भन्ने सम्ममात्र हो ।
लेखक : पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष हुन् भने अध्यक्षका प्रत्यासी हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।

नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस…







