‘ओलीको पुत्ला जलाउनेहरु लोकतन्त्र र गणतन्त्र बिरोधी’


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित




पोखरामा संसद विघटनको पक्षमा प्रदर्शन भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्माको समर्थनमा ओली पक्षीय युवा तथा विद्यार्थीहरुले पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका उनीहरुले केपी ओली जिन्दावाद, प्रचण्ड–माधव नेपाल मुर्दावाद, लोकतन्त्र जिन्दावाद, भ्रष्टाचारी मुर्दावादलगायतका नाराहरु लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले संसद विघटन रहरले नभई बाध्यताले गर्नुपरेको बताए । आफ्नै पार्टीका नेताहरुले काम गर्न नदिएपछि ताजा जनमतका लागि मध्यावधी निर्वाचन घोषणा भएको भन्दै उनले भने,‘हामी रहरले होईन, बाध्यताले संसद विघटनको पक्षमा प्रदर्शन गर्दैछौं, संसद विघटन गर्नु रहर नभई बाध्यता हो ।’ उनले प्रचण्ड र माधव नेपाल आफ्नो भ्रष्टाचार लुकाउनका लागि ओलीबिरुद्ध खनिएको बताए । ‘प्रचण्ड क्यान्टोनमेनको भ्रष्टाचार खोतलिने डरले र माधव नेपाल ललिता निवासमा भएको भ्रष्टाचार खोतलिने डरले ओली सरकार ढाल्ने प्रयासमा लागेका हुन्’–उनले भने । प्रचण्डसँग माधव नेपाल सती गएको आरोप लगाउँदै उनले भने,‘अब दुबैजना जेल जाने दिन कुरेर बसे हुन्छ ।’

ओली पक्षीय विद्यार्थी नेता विवेक देवकोटाले संसद विघटनको स्वागत गर्ने मन नभएपनि लोकतन्त्रको रक्षाका लागि संसद विघटन भएकाले त्यसको स्वागतका लागि प्रदर्शन गरिएको बताए । ‘पाँच वर्षमा हुने निर्वाचन दुई वर्षमै गर्दा गणतन्त्र र लोकतन्त्र बाँच्छ भने त्यसो गर्न हामी तयार छौं भनेर मध्यावधी निर्वाचन घोषणा गरिएको हो’–उनले भने । उनले प्रचण्ड–माधव समूहलाई चुनाव जितेर देखाउन चुनौति दिए । उनले ओलीको पुत्ला जलाउनेहरु लोकतन्त्र र गणतन्त्र बिरोधी भएको आरोप लगाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।