लेखनाथ खानेपानीले गिउजे खोलाबाट तेब्बर पानी ल्याउने


     एभरेस्ट आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित





कास्कीको लेखनाथमा रहेको लेखनाथ साना सहरी खानेपानी आयोजनाले क्षमता बिस्तार गर्ने भएको छ । आयोजनाले अहिले आइरहेको पानीको क्षमता हालको भन्दा तेब्बर रुपमा बढाउने तयारी गरेको हो । आयोजनाले हाल पोखरा महानगरपालिका वडा नम्बर २० र मादी गाउँपालिका वडा नम्बर ७ को दोभानमा रहेको गिउजे खोलाबाट पानी ल्याइरहेको छ । सो खोलाबाट हाल प्रति सेकेण्ड ४८.९ लिटर पानी ल्याइरहेको आयोजनाले त्यसको क्षमता बिस्तार गरेर तेब्बर अर्थात १५० लिटर प्रति सेकेण्ड बनाउने तयारी गरेको आयोजनाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । गिउजे खोलाबाट झण्डै ३३७ लिटर प्रति सेकेण्ड पानी बगिरहेको एक अध्ययनले देखाएको उनले बताए । उनका अनुसार खोलामा बग्ने पानीको एक तिहाई पानी खोलामै बग्न दिनुपर्ने नियम मान्दापनि आयोजनाले ल्याउन खोजेको पानी सजिलै ल्याउन सकिन्छ ।

गिउजे खोलाबाट आउने पानीको क्षमता तेब्बर पार्न सकिए बोरिङको पानी प्रतिस्थापन गरेर खोलाको स्वच्छ पानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ । लेखनाथको गिउजे मुहानसहित लेखनाथका विभिन्न ६ ठाउँबाट बोरिङ गरेर यसले दैनिक ९ हजार ७ सय ७४ घनमिटर पानी उत्पादन गरेर लेखनाथबासीलाई वितरण गर्नेगरेको अध्यक्ष बरालले बताए । ‘बोरिङको पानीलाई प्रतिष्थापन गरेर खोलाको स्वस्थ पानी पु¥याउनका लागि गिउजे खोलाको पानी ल्याउने क्षमता बिस्तार गर्न हामी प्रयासरत छौं’–उनले भने । एकातिर खोलामा पानी खेर गइरहेको छ, उनले भने,‘अर्कोतिर सर्वसाधारणले राम्रो पानी पिउन पाएका छैनन्, त्यसैले खेर गएको पानीको सदूपयोग गर्दै उपभोक्तालाई स्वस्थ पानी दिनुपर्छ भन्नेमा लागेका हौं ।’

पानी ल्याउने क्षमता बिस्तारका लागि झण्डै १ अर्ब खर्च लाग्ने आयोजनाले जनाएको छ । त्यसमध्ये सरकार र आयोजनाबीच ९०÷१० प्रतिशतमा काम गर्ने प्रक्रिया अघि बढेको आयोजनाका अध्यक्ष बरालले बताए । उनका अनुसार आयोजनाका लागि सरकारको ९० प्रतिशत र आयोजनाको तर्फबाट १० प्रतिशत लगानी गर्नेछ । आयोजनाका लागि रकम जुट्ने सम्भावना भएपछि अहिले त्यसको डिपीआर र डिजाईनको काम भइरहेको आयोजनाले जनाएको छ । त्यसलगत्तै टेण्डर प्रक्रिया शुरु हुने अध्यक्ष बरालले जानकारी दिए ।

यदि काम सरासर भएमा यही आर्थिक वर्षमा हालको भन्दा तेब्बर पानी ल्याउन सकिनेगरी पाईप बिस्तारको कामसमेत भइसक्ने उनको भनाई छ ।२०५५ सालमा स्थापना भएको लेखनाथ खानेपानीले ‘मुहानदेखि मुखसम्म शुद्ध पानी, हामी उपभोक्ताको सरोकार र निगरानी’ भन्ने मुख्य नारासहित लेखनाथ क्षेत्रका झण्डै डेढ लाख मानिसलाई पानी वितरण गर्ने गरेको छ । लेखनाथ खानेपानीले सबैभन्दा शुद्ध पिउने पानी वितरण गर्दै आएको आयोजनाका सचिव मुरारी शर्माले जानकारी दिए ।

लेखनाथ सहरी खानेपानी आयोजनालाई नेपाल सरकारले उत्कृष्ट ठह¥याउँदै २ पटक पुरस्कृत गरिसकेको छ भने दक्षिण एसियाकै उत्कृष्ट ब्यबस्थापनमा सञ्चालित भई सेवा दिइरहेको भन्दै साउथ प्यासिफिक वाटर म्यानेजमेन्टलेसमेत पुरस्कृत गरेको आयोजनाकी कोषाध्यक्ष नारायणी भट्टराई (रक्षा)ले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।