ओलीको नक्कली राष्ट्रवादको मुखुण्डो उत्रियो : पाण्डे


     एभरेस्ट आवाज    
     पौष १४ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको सेटिङमा संसद विघटन गरेको आरोप लगाएका छन् । नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले विदेशीको ईशारामा संसद विघटन गरेको आरोप लगाएका हुन् । भन्न त ओलीजीले मैले सेटिङ गरेर संसद विघटन गरेको भन्नुहुन्छ,उनले भने,‘तर उहाँले आफ्नो होईन, अर्काको सेटिङमा संसद विघटन गर्नुभो ।’ अर्काको सेटिङमा संसद विघटन गरेकाले अब तपाईं (ओली) आफ्नो सेटिङमा हिंड्न सक्नुहुन्छ,उनले थपे,‘अब तपाईं अर्काको सेटिङमा हिंडनुपर्छ, यो तपाईंको बाध्यात्मक परिस्थिति हो ।’ जस्केलाबाट संसद विघटन गर्दाको परिणाम अब ओलीले पाउने उनले चेतावनी दिए । ओली खाल्टामा खसेको टिप्पणी गर्दै उनले अगाडि भने,‘तर आफू खाल्टामा पर्दा देशलाईपनि खाल्टामै हालेर जानुभो ।’ ओलीले देश, जनता, कम्युनिष्ट पार्टीप्रति गद्धारी गरेको आरोप लगाए ।

नेकपा नेता पाण्डेले ओलीको नक्कली राष्ट्रवादको मुखुण्डो उत्रिएकोसमेत दाबी गरे । साम्राज्वादी र बिस्तारवादीबाट सञ्चालित भएको आरोप लगाउँदै उनले भने,‘नक्कली नाटक गर्न ओली माहिर हुनुहुन्छ । भारतका मान्छे आउँदा कालापानी, लिम्पीयाधुरा समेटिएको चुच्चे नक्सा निकाल्नु हुन्छ अनि चीनलगायतका मुलुकका मान्छे आउँदा चुच्चे नक्सा टाँस्नु हुन्छ ।’ बाध्यताले चुच्चे नक्सा निकालेका ओलीले पुस्तकमा नया नक्सा राख्न नदिएपछि उनको नक्कली राष्ट्रवाद उत्रिएको उनको टिप्पणी छ ।

नेता पाण्डेले सर्बोच्चले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे । सर्बोच्च अदालतले संविधान हेरेर निर्णय गर्छ कि अनुहार हेरेर ? प्रश्नोत्तर शैलीमा बोल्दै उनले भने,‘यदी संविधान हेरेर निर्णय गरिन्छ भने संसद पुर्नस्थापना हुन्छ, होईन अन्तै कसैको अनुहार हेरेर निर्णय भयो भने त के के निर्णय हुन्छ हुन्छ ।’ उनले संसद विघटनलाई अदालतले सदर गरिदिएमा ओलीले भोलि अदालत नै विघटन भयो भनिदिए भने के हुन्छ ? भनेर प्रश्नसमेत गरेका छन् ।

पाण्डेले आफ्नो समूहले नेकपाको संस्थापन समूह र चुनाव चिह्न सूर्य प्राप्त गर्ने दाबी गरे । नेकपाको दुई तिहाई सदस्य आफ्नो समूहमा भएको दाबी गर्दै उनले भने,‘ओली पक्षमा २५ प्रतिशतपनि नेता छैनन्, त्यसैले ढुक्क हुनुस् सूर्य चिह्न र नेकपा हामीले पाउँछौं, हाम्रो विपक्षमा निर्णय हुँदैन, हुन दिईंदैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।