एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण कार्यक्रम नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई एसियाली फुटबल संघ एएफसीद्वारा प्रदान गरिएको एसियाली फुटबल संघ (एएफसी) कप क्लब लाइसेन्स बुधबार हस्तान्तरण कार्यक्रममा सहभागी हुँदै प्रधान सेनापति पूर्णचन्द थापालगायत । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन आर्मी फुटबल क्लब नेपाली सेनाको विभागीय टोली हो ।
एएफसीको ‘क्लब लाइसेन्सिङ अपिल बडी’को यही पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी क्लबलाई उक्त लाइसेन्स प्रदान गर्ने निर्णय गरेको थियो । उक्त अनुमति प्राप्त गरेसँगै त्रिभुवन आर्मी क्लबले एपएफसी कप क्लबअन्तर्गत सञ्चालन हुने व्यावसायिक फुटबल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेको छ ।
एएफसी विश्व फुटबल महासङ्घ (फिफा) भित्रका ६ सङ्घमध्येको एक हो । एएफसीमा ४७ देश सदस्यका रुपमा आबद्ध छन् । उक्त संस्था सन् १९५४ फिलिपिन्सको मनिलामा गठन भएको थियो । हाल एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा छ ।
नेपालमा एएफसीले क्लब लाइसेन्सिङको प्रक्रिया सन् २०१६ देखि लागू गरेता पनि सन् २०१८ देखि लाइसेन्स अनिवार्य गरिएको थियो । एन्फाले नेपालका सबै ‘ए’ डिभिजन क्लबलाई एएफसी लाइसेन्स प्रक्रिया पूरा गर्न निर्देशन दिए पनि आर्मी क्लबबाहेक कुनै पनि क्लबले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्रिभुवन आर्मी फुटबल क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने नेपालकै पहिलो क्लब हो । क्लब लाइसेन्स हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्नु सिङ्गो मुलुकको खेलकूद क्षेत्रकै सफलता भएको बताउनुभयो ।
नेपाली सेनाका उपरथी निरन्जन श्रेष्ठले एएफसी क्लबको लाइसेन्स प्राप्त भएबाट नेपालको खेलकूद विकासका लागि थप हौसला प्रदान भएको धारणा राख्नुभयो । त्रिभुवन आर्मी क्लब नेपालको खेल क्षेत्रको च्याम्पिएनशिप विभागीय टोली हो ।
सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख सेनानी ब्रजेश महर्जनका अनुसार खेलकूदको स्तर, पूर्वाधार, व्यवस्थापन, आर्थिक अवस्थालगायत मापदण्ड पूरा गरेका कारण आर्मी क्लबले उक्त लाइसेन्स प्राप्त गर्न सफल भएको हो । सेनामा हाल ३४ खेल विधाका ७५० भन्दा बढी खेलाडी आबद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





