दरिलो आम्दानीको स्रोत ‘लेमन टी’


     एभरेस्ट आवाज    
     पौष १५ गते २०७७ मा प्रकाशित




न त ठूलो पूँजी लगाउनु परेको छ न त कुनै पसल नै खोलेर बस्नु परेको छ, तर पनि कैलालीको मोनेल गाउँपालिका–६ घर भई राजविराज नगरपालिकामा बस्दै आउनुभएका ताराप्रसाद जोशीले राम्रो आम्दानी गरीरहनुभएको छ ।

उहाँको कमाईको स्रोत कुनै जागिर वा अन्य कुनै कठोर परिश्रम नभई घुमफिर कागती चिया (लेमन टी) चिया बेच्ने व्यवसाय हो । सप्तरी सदरमुकाम राजविराज नगर क्षेत्रमा लेमन टी चियावालाका रुपमा परिचित ४८ वर्षीय जोशी राजविराज नगर क्षेत्रको घरघर, चौकचौक र सरकारी कार्यालयमा लेमन टी चिया पु¥याएर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

लेमन टी चिया बेचेरै जोशीले ६ जनाको परिवार मात्रै पाल्दै आउनुभएको छैन, आफ्ना चारजना छोराछोरीलाई समेत उच्च शिक्षामा पढाइ रहनुभएको छ । उहाँले गरीबी र पारीवारिक कारणले आफूले राम्ररी पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सोच बनाइसक्नुभएको छ ।

विगत चार वर्षदेखि नगर क्षेत्रमा घुमफिर लेमन टी चियाको व्यवसायी गर्दै आउनुभएका जोशीले राजविराजमा घरघडेरीसमेत जोड्ने तयारी गर्दै हुनुहुन्छ । लेमन टी चिया बेचेर दैनिक एक हजार ५०० देखि रु दुई हजारसम्म कमाई हुँदै आएको उहाँ बताउनुहुन्छ । “दिनमा २०० देखि २५० कपसम्म लेमन टी चिया बिक्री हँुदै आएको छ”, जोशी भन्नुहुन्छ, “एक कपको रु १० आउँछ यसरी जोड्दा दैनिक दुई हजारभन्दा बढी कमाई भइहाल्छ ।

” स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त मानिने लेमन टी चियाको माग बजारमा अत्यधिक भए पनि एक्लैले चिया पु¥याउन भ्याइनभ्याई हुने गरेको उहाँको कथन छ । थोरै लगानीबाट शुरु गरेको घुमफिर लेमन टी चिया बेच्ने व्यवसायी गरी परिवार पाल्नाका साथै त्यही कमाईबाट अहिले जेठो छोरालाई सिभिल इन्जिनीयर, कान्छो छोरालाई ओभरसियर र जेठी छोरीलाई स्टाफ नर्स पढाइ रहेको जोशीको भनाइ छ ।

“चिया बेचेर थोरै बचत गरेको राखेको छु”, जोशी भन्नुहुन्छ, “अब राजविराजमै घडेरी जोड्ने तयारी गर्दैछौँ ।” परिवारको गरिबी अवस्थाका कारण केही समय भारतको पञ्जाव, हरियानालगायत शहरमा मजदुरी गरेर फर्किनु भएका जोशी अरुको मजदुरी गर्नुभन्दा लेमन टी चियाको व्यवसाय नै ठीक लागेको उहाँको अनुभव छ ।

‘‘मजदुरी गर्दा थुप्रै समस्या हुन्छ, अरुको अधिनमा बसेर काम गर्नुपर्दा मन खिन्न लाग्थ्यो”, उहाँ भन्नुहुन्छ, ‘‘अहिले आफ्नो घुमफिरको व्यापार छ, स्वतन्त्र रुपमा जति मिहिनेत गर्छु, त्यो हिसाबले आम्दानी हुन्छ, अहिले ढुक्क छु ।” गाउँका छिमेकीहरुको सहयोगमा राजविराजमा आएर लेमन टी चिया बनाएर बेच्ने काम शुरु गरेको सम्झिँदै जोसी भन्नुहुन्छ, ‘‘आफ्नो घर नजिकैका साथी राजविराज नजिकैको भारतको कुनौलीमा चियाको व्यापार गरिरहनु भएको छ, उहाँकै सहयोगमा म राजविराजमा आएर यही काम शुरु गरे, अहिले आफ्नो व्यवसायी राम्रो भएको छ ।

” ‘थोरै कमाउ तर देशमै बसेर मिहिनेत गरेर कमाउँ’ भन्ने सोच भएर आफू बिदेश नगएर स्वदेशमै कम लगानीमा राम्रो आम्दानी गर्दैछु, यसबाट आफू र आफ्ना परिवारका सदस्यहरु सन्तुष्ट छन्”, उहाँको भनाइ छ । बिदेशमा गएर कडा मिहिनेत पनि गर्नु र दुःख पनि झेल्नुभन्दा परिवारका सदस्यसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ, त्यसमा पनि स्वदेशमै बसेर राम्रो आम्दानी हुन थालेपछि किन बिदेश जानु भन्ने उहाँको धारण छ ।

दूध हालेर बनाउने चियाले स्वास्थ्यमा समस्या सृजना गर्ने भएकाले बजारमा धेरै मानिसको लेमन टी चिया प्रति आकर्षन बढेको छ । स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण लेमन टीप्रति बढेकाले जोशीको घुमफिर चिया व्यापार फस्टाएको स्थानीय व्यापारीको बुझाइ छ ।

राजविराजका स्थानीय व्यापारी जगत यादव भन्नुहुन्छ, “जोशीले बाबा रामदेवको आयुर्वेदिक मसला हालेर लेमन टी चिया बनाएर बेच्ने गर्नुभएको छ, खान स्वादिष्ट र स्वस्थ्यको दृष्टिकोणले समेत राम्रो हुने भएकाले धेरैले उहाँकै लेमन टी चियालाई मन पाउँछ ।” पसलपसलमै पुगेर चिया पु¥याई दिने र बजारको मूल्यभन्दा कममा चिया दिने गरेकाले पनि जोशीको चियाको माग बढेको यादवको भनाइ छ ।

केही वर्षयता विदेश जाने युवाको लर्काे नै लग्ने गरेका बेला उहाँले स्वदेशमै बसेर कम लगानी राम्रो आम्दानी गर्न सकिन्छ भने उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले जोशीबाट पाठ सिकेर स्वदेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली बताउनुहुन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।