फाइल फोटो
आज पुसको १६ गते अर्थात ४५ औं राष्ट्रिय मेलमिलाप एकता दिवस। हरेक वर्षको पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप एकता दिवसको रुपमा मनाइन्छ।
आजका दिन संपूर्ण राजनैतिक पार्टी, तिनका अनेक भगिनी संगठनहरुले प्रजातान्त्रिक अभ्यासमा इतिहासका ति विशेष कालखण्डका महान जननेताहरु वीपी. कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई आदिका तस्वीरमा माल्यार्पण गर्दै राष्ट्रिय मेलमिलापमा उहाँहरुको योगदानको चर्चा गर्ने गरिन्छ।
राष्ट्रिय मेलमिलाप दिवसलाई सदासयता दिवसको रुपमा पनि लिने गरिन्छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली काँग्रेसको संस्थापक नेता वीपी कोइरालालाई काँग्रेसको राजनीति अनि एउटा पार्टीगत छवीबाट नहेरिकन स्वतन्त्र नेपाली वैचारिक योद्धाका रुपमा पनि नियाल्ने गरिन्छ। उनै बीपी कोइरालालाई राष्ट्रिय मेलमिलापको राष्ट्रिय नीतिको महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ। उनैद्वारा स्थापित यस सद्भावात्मक विचारको कदर स्वरूप हरेक वर्ष पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाइन्छ।
राजनैतिक पार्टी, समूदाय, सभ्यता, धर्म अनि भाषा लगायतका कुराहरुमा मेलमिलाप र सदासयताको भावना नेपाली जनमनमा मिठास बनि घुलिरहोस्। एकताको विगुल फुकोस।
सबै नेपाली एक हौं। बादल, चरा, नदि अनि बतासलाई कुनै सीमानाले छेक्न सक्दैन, नेपालीपन त्यस्तै विशाल शक्ति हो। जुन सदैव नेपाली हुनुमा गर्व गर्ने ताकत प्रदान गर्दछ। अनि यो भावना सर्वदा जिवित रहोस्। जिवन्त रहोस्।
तराईलाई दुख्दा हिमालले सहयोग गरोस्। पहाडका घाउहरुमा हिमाल र तराई मिलेर ओखती गरुन्। नेपाल साँच्चै पनि एउटा स्वर्गको टुक्रा हो, मेलमिलाप र एकताको भावनाले यो अनूपम स्वर्गलाई अझै उज्यालो छरोस। आजको दिनको सम्पूर्ण नेपालीहरुमा एभरेस्ट एफएम, एभरेस्ट आवाज डट कम, समग्रमा एभरेस्ट मिडिया हाउस प्रा.लि. शुभकामना व्यक्त गर्दछ।
सरकारको अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेसको संघर्ष

यो वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने नेपाली काँग्रेसले जनाएको छ ।
काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताउनुभएको छ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा काँग्रेसले मनाउँदै आएको थियो।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका काँग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो।
२०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालालगायत काँग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





