स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाइने


     एभरेस्ट आवाज    
     पौष १६ गते २०७७ मा प्रकाशित




काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ । पहिले पानी वितरण केन्द्र नजिकै प्रशोधन केन्द्र रहेकोमा अहिले स्रोत नजिकै बनाउन लागिएको लिमिटेडले जनाएको छ ।

कतिपय स्थानमा स्रोत र प्रशोधन केन्द्रबीच दूरी रहेको र त्यसबीचमा बस्ती रहेको थियो । बीचका बस्तीमा पानी प्रशोधन नभइ पठाइएकाले सबैतिर प्रशोधन भएको पानी दिनका लागि स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन लागिएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउनका लागि अध्ययन अघि बढाइएको छ ।

उहाँले भन्नुभयो, “पहिले अध्ययन भएपछि नै योजना बनाएर निर्माणमा जान सकिन्छ ।”लिमिटेडले उपत्यकामा रहेका ३५ स्रोतको पानी वितरण केन्द्रमार्फत वितरण गर्दै आएको छ । प्रशोधन केन्द्र निर्माणका लागि स्थानीय तहसँग पनि आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

अहिलेसम्म टोखा र बूढानीलकण्ठ नगरपालिकाले केन्द्रका लागि जग्गा दिने सहमति भएका छन् । अन्य नगरपालिकासँग पनि यसका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ स्रोत पहिचान गर्न र भएका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन दुबैका लागि स्थानीय तहसँग नै सहकार्य भइरहेको छ ।” काठमाडौँ उपत्यकामा वितरण गर्नका लागि मेलम्ची खोलाको पानी ल्याउने तयारी भइरहँदा लिमिटेडले भइरहेका स्रोतको पनि व्यवस्थापनको काम अघि बढाइरहेको छ ।

लिमिटेडले उपत्यकामा नै विभिन्न स्थानमा रहेका स्रोतको पानी समेत ल्याउनका लागि समन्वय अघि बढाएको छ । लिमिटेडले मेलम्चीको पानी आउनासाथ वितरणका लागि पनि आवश्यक तयारी गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।