नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर थापाले केपी ओलीको ईशारामा अख्तियारले ठूला नेतालाई भ्रष्टाचारको आरोपमा फसाउने दाबी गरेका छन् । नेपाली कांग्रेस कास्कीले विहीबार पोखरामा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले सत्ता कब्जा गर्ने नियतले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउँदै अब अख्तियारको मद्धतमा ठूला नेतालाई भ्रष्टाचारमा फसाउने दाबी गरेका हुन् । ठूला नेतालाई फसाउनकै लागि ओलीले संवैधानिक समितिमा बहुमतका आधारमा निर्णय गरेर अख्तिार प्रमुख प्रेमकुमार राईलाई नियुक्त गरेको भन्दै उनले भने,‘हेर्दै जानुहोला अख्तियारले छानीछानी सिस्नुपानी लगाएनछ भने मलाई थुक्क भन्नुहोला ।’
नेता थापाले षडयन्त्रकारी केपी ओलीले चुनाव गराउँछ भनेर विश्वास गर्नै नसकिने बताए । लोकतन्त्र बचाउनका लागि कांग्रेसले आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने उनको भनाई छ । कांग्रेस चुनावमा जितिन्छ कि भनेर लोभमा फस्न नहुने बताउँदै उनले भने,‘संसद पुर्नस्थापना हुन्छ र हुनैपर्छ, तर त्यसका लागि आन्दोलनको आँधीबेहरी ल्याउनुपर्छ, यसले अदालतलाईपनि संसद पुर्नस्थापनाका लागि आड भरोसा दिन्छ ।’
नेता थापाले कांग्रेसले एक ढिक्का भएर संसद विघटन गर्ने ओलीको कदमबिरुद्ध आवाज उठाउनुपर्ने बताए । संविधान च्यात्न पाईंदैन,उनले भने,‘यसबिरुद्ध हाम्रो सभापति बोल्नु पर्यो, रामचन्द्र दाई बोल्नुपर्यो, कांग्रेस बोल्नुपर्यो ।’
नेपाली कांग्रेसका पुराना नेता खेमराज पौडेलले कांग्रेस चुनावमा जाने कि आन्दोलनमा जाने भनेर अलमलमा बस्न नहुने भन्दै यसबारे संस्थागत निर्णय गर्न आग्रह गरे । अदालतले संसद विघटनलाई सदर गरिदियो भने के गर्ने ? उनले भने,‘त्यसबेला अदालतबिरुद्ध पनि आन्दोलन गर्ने कि नगर्ने ? अहिल्यै निर्णय गरेर अगाडि बढ्नुपर्यो ।’
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, गण्डकी प्रदेश सांसद कुमार खड्का, देवराज चालिसेलगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







